सरकारमा सहभागि हुने भएपछि नागरिक उन्मुक्तीका सातै सांसदले गाडी सुबिधा पाउने

  मङ्गलबार १६, साउन २०८० १३:४२

धनगढी । सत्तारुढ दल नागरिक उन्मुक्ती पार्टी अन्ततः सरकारमा जाने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको रोहबरमा मुख्यमन्त्री कमल शाह, नागरिक उन्मुक्तीका संरक्षक रेशम चौधरी सहित बालुवाटारमा भएको छलफलपछि उन्मुक्ती सुदूरपश्चिम सरकारमा जान सहमत भएको हो । मंगलबार गरी दुई पटक बालुवाटारमा भएको छलफलपछि सो पार्टी सरकार जान सहमत भएको हो ।

प्रधानमन्त्री दाहाल र मुख्यमन्त्री कमल बहादूर शाह सहितको छलफलपछि दुई वटा संसदीय समितिको सभापति, एक मन्त्रालय, १ राज्यमन्त्री र उपसभामुख दिने सहमति भएको नागरिक उन्मुक्तीका एक सांसदले बताए । सरकारले बिहीबार पूर्णता पाउने उनले बताएका छन् । यहाँ ४ वटा संसदीय समिति रहेको छ । भने उपसभामुखमा नेकपा एमालेकी कोइली देवी चौधरी रहेकी छिन् । भने, सभामुखमा माओवादी केन्द्रका भीमबहादुर भण्डारी छन् ।

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीले यसअघि पाउने भनिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र सो मन्त्रालय अन्तरगतको एक राज्यमन्त्री पाउने भएको हो । साउन ९ गते पनि १ मन्त्री र १ राज्यमन्त्रीको शपथको तयारी गरिएको थियो । तर पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको अन्तिम समयमा मुख्यमन्त्री शाहलाई सरकारमा सहभागी नहुने पत्रपछि रोकिएको थियो ।

यहाँ नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद छन् । २ जना सांसदलाई यसअघि नै संसदीय दलको नेता र प्रमुख सचेतकको जिम्मेवारी दिइसकेको छ । अब बाँकी ५ जनामध्ये एक मन्त्री, एक राज्यमन्त्री, २ सभापति र एक जनालाई उप सभामुख दिइने सहमती भएको पार्टीले जनाएको छ । हाल संसदिय दलका नेता र प्रमुख सचेतकले गाडी सुबिधा लिइरहेका छन् । बाँकी ५ जना प्रदेशसभा सदस्यहरुलेपनि सहमती अनुसारको जिम्मेवारी पाए गाडी सुबिधा पाउने छन् ।

clock मङ्गलबार १६, साउन २०८० १३:४२

प्रतिक्रिया