तनहुँ १ मा भट्टराई र चितवन २ मा श्रेष्ठलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय, बारा २ मा भने जसपालाई सघाउने

  बिहिबार १६, चैत २०७९ १३:०४

काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवार टुंग्याएको छ ।

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तनहुँ १ मा केन्द्रीय सदस्य गोविन्द भट्टराई र चितवन २ मा चितवन पूर्व सभापति जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यस्तै, कांग्रेसले बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको छ ।

तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

यस्तै, चितवन २ बाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनका लागि चैत २० मा मनोनयन दर्ता गर्ने कार्यक्रम छ । निर्वाचन आगामी वैशाख १० गते हुँदैछ ।

clock बिहिबार १६, चैत २०७९ १३:०४

प्रतिक्रिया