धनगढीका तीन व्यापारिक फर्म कारबाहीमा

  शनिबार १३, साउन २०८० १२:३७

धनगढी । धनगढीका तीन व्यापारिक फर्म कारबाहीमा परेका छन् । धनगढी उपमहानगरपालिका नेतृत्वको बजार अनुगमन टोलीले शुक्रवार तीन ओटा व्यापारिक फर्मलाई जरिबाना गराएको हो ।

अनुगमनका क्रममा धनगढी-७ मनेहरास्थित नम्रता ट्रेड लिंकमा म्याद गुज्रेको पेन्ट (कलर) पाइएको थियो । उक्त फर्मलाई पहिलो पटकका लागि न्यूनतम एक हजार रुपैयाँ जरिबाना गराइएको छ ।

सोही ठाउँको न्यू केदारनाथ हार्डवेयरमा म्याद सकिएको पेन्ट र आफै एमआरपी मूल्य सच्याएर लेखेको पाइएकोमा त्यहाँ पनि एक हजार रुपैयाँ जरिबाना गराइएको छ ।

मनेहराकै न्यू देवकी जनरल स्टोरमा दर्ता नगरी मदिरा बिक्री वितरण गरेको पाइएकोमा एक हजार रुपैयाँ जरिबाना गराइएको छ । अनुगमन टोलीले व्युटीपार्लर, हार्डवेयर, होटेल, किराना पसललगायत विभिन्न २० ओटा व्यापारिक फर्ममा अनुगमन गरेको थियो ।

नियमविपरीत कार्य गर्ने व्यापारिक फर्मलाई पहिलो पटकका लागि एक हजार रुपैयाँ जरिबाना गराएर सम्झाई बुझाई छोडिएको र फेरि सोही गल्ती भेटिए कानुन बमोजिम कारबाही गरिने उपमहानगरपालिकाका उपभोक्ता हित संरक्षण शाखा प्रमुख नारायणप्रसाद शर्माले बताए ।

clock शनिबार १३, साउन २०८० १२:३७

प्रतिक्रिया