धनगढीका अस्पताल र निजी विद्यालयले मनोमानी असुलिरहेको शुल्क रोक्न अनेरास्ववियुको माग

  बिहिबार ११, साउन २०८० १८:२६     विश्वास खबर

धनगढी । धनगढीका निजी विद्यालय र अस्पतालहरुले मनोमानी शुल्क असुलिरहेको भन्दै अनेरास्ववियुले उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको छ । 

बिहीबार नगर प्रमुख गोपाल हमाललाई ध्यानाकर्षण पत्र बुझाउदै अनेरास्ववियु कैलालीले शिक्षा र स्वास्थ्य क्षेत्रमा निजी संघसंस्थाले लिइरहेको शुल्क रोकेर मापदण्ड बनाउन माग गरेको हो ।

कक्षा १ देखि १२ सम्म अध्यापन गराउने विद्यालय र १५ शैयासम्मका अस्पताल उपमहानगरपालिकाको अधिकार क्षेत्रभित्र पर्ने भएकाले शुल्क सम्बन्धी मापदण्ड बनाएर जथाभावी असुलीभइरहेको रोक्न माग गरिएको छ ।

अनेरास्ववियुका जिल्ला संयोजक रोहित बोगटीले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा नगर शिक्षा ऐनमा विद्यालयले लिने शुल्कका विषयमा कुनै कुरा उल्लेख नगरिएको र मापदण्ड समेत नभएकाले निजी विद्यालयले अभिभावकको ढाड सेक्नेगरी शुल्क लिइरहेकाले रोक्न भनिएको छ ।

नगर शिक्षा ऐनमा कुल विद्यार्थीको १० प्रतिशतलाई छात्रवृत्ति दिनुपर्ने उल्लेख भएपनि नदिएको, मापदण्डअनुसार भौतिक संरचना नबनेको, धनगढीमा अनुमती नलिएर निजी अस्पताल सञ्चालन गरिएको, स्वास्थ्यको मापदण्ड नपुुगाएको, १५ शैयाको अनुमती लिएका अस्पतालले ५० शैयासम्म सञ्चालन गरिरहेकाले कारवाहीको दायरामा ल्याउन माग गरिएको छ ।

 

clock बिहिबार ११, साउन २०८० १८:२६     विश्वास खबर

प्रतिक्रिया