ठेक्का प्रक्रियामै अल्झियो बुढीगङ्गा आयोजना

  बिहिबार ११, साउन २०८० ११:१३

अछाम। अछाम जिल्लावासीका लागि बहुप्रतीक्षित २० मेगावाटको बुढीगङ्गा जलविद्युत् आयोजना निर्माण कार्य ठेक्का प्रक्रियामा अल्झिएको छ । समयमै ठेक्का प्रक्रिया पूरा नहुँदा आयोजना निर्माणले गति लिन सकेको छैन । आयोजना निर्माणको मुख्य ड्याम, टनेल र पावर हाउस निर्माण कामको ठेक्कासम्बन्धी समयमा नै टुङ्गो नलाग्दा आयोजना निर्माण कार्य पछि धकेलिँदै गएको छ । तीन पटकसम्म ठेक्का प्रक्रिया रद्द हुँदा आयोजनाको निर्माणको कार्य अघि बढ्न नसकेको पाइन्छ ।

ड्याम, टनेल र पावर हाउस निर्माणका लागि अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वान गरिए पनि तीनै पटक ठेक्का रद्द भएको छ । २०७८ साल भदौमा गरिएको दुई चरणको ठेक्का प्रक्रियामा एउटा कम्पनीको मात्र बोलपत्र परेकाले उक्त ठेक्का प्रक्रिया रद्द गरिएको आयोजना कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर स्वतन्त्रकुमार कर्णले बताए ।

त्यसको छ महिनापछि चैतमा गरिएको एकल चरण ठेक्का प्रव्रिmयामा आएका कम्पनीले ठेक्का रकमभन्दा बढी ठेक्का हालेपछि उक्त प्रक्रिया पनि रोकिएको बताइएको छ । आयोजनाले २०७९ साल असोजमा पुनः अन्तर्राष्ट्रियस्तरकै बोलपत्र आह्वान गरे पनि त्यसमा कम्पनीहरूले तोकिएको रकमभन्दा बढी ठेक्का हालेकाले प्रक्रिया अघि नबढेको उनी बताउँछन् । “तीन पटक बोलपत्र गर्दा पनि खरिद ऐन अनुसार प्रभावग्राही नभएकाले रद्द भएका हुन्,” इन्जिनियर कर्णले भने।

चौथो पटक बोलपत्र खोलिएकाले त्यसको प्रक्रिया पूरा भएपछि मात्र आयोजना स्थलका मुख्य निर्माणका काम हुने बताइएको छ । “आयोजना निर्माणको काम ढिलो हुने भनेर अहिले अवलम्बन गरिएको प्रक्रिया दु्रत प्रक्रिया हो । त्यसै अनुसार हामी अघि बढ्छौँ,” कर्णले भने।ठेक्का प्रक्रियामा आयोजना अल्झेपछि काम निकै धिमा गतिमा गएको स्थानीयको गुनासो छ । “ठेक्का प्रव्रिmया पटक पटक रद्द भयो भन्ने कुरा सुन्नमा आएको छ, यसले त आयोजना निर्माणमा ढिलाइ भइरहेको छ,” साँफेबगरका अगुवा युवा कृष्ण बुढाको भनाइ छ ।

करिब १८ महिनामा सम्पन्न हुने डिपिआरले चार वर्ष समय लिएपछि आयोजना निर्माणको काम पटक पटक पछाडि धकेलिएको छ । ठेक्का प्रक्रिया तीन वर्ष लागेपछि निर्माण समयमै सम्पन्न हुनेमा स्थानीयको आशङ्का रहेको छ ।“आयोजनाको काम ढिलो भइरहेको छ, चाँडो सम्पन्न गर्ने गरी काम गर्नुपर्छ,” साँफेबगर नगरपालिकाका उपप्रमुख शिवबहादुर कुँवर (शिलोज) ले भने निकै महत्वपूर्ण रूपमा हेरिएको आयोजनाको काममा तीव्र गतिमा हुनुपर्ने माग उनको छ । सो आयोजनाका लागि अछाममा २५० रोपनी, डोटीमा ५० र बाजुरामा २० रोपनी जग्गाको मुआब्जा वितरण भइसकेको बताइएको छ। आयोजना स्थल नजिकै प्रशासनिक भवन, पावर हाउस जाने पहुँच मार्ग र पुल निर्माण भइसकेका छन् ।

२०७७ सालभित्र आयोजना निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइने उल्लेख थियो । २०८० साल लाग्दा समेत आयोजना सञ्चालन हुने सुरसार छैन । छ अर्ब लागत अनुमान गरिएको आयोजनामा साउदी विकास कोषको तीन अर्ब २० करोड, कुवेत विकास कोषको एक अर्ब ८० करोड ऋण र बाँकी नेपाल सरकारले लगानी गर्ने गरी सो आयोजना सुरु गरिएको हो ।

साँफेबगर नगरपालिका–१३, बुढाबगरमा बाँध बनाएर ५।६ किलोमिटर सुरुङ मार्गबाट ठाँटी बजारमा रहने विद्युत् गृहमा पानी खसालिने छ । १०र१० मेगावाटका दुइटा टर्बाइन प्रयोग गरेर २० मेगावाट विद्युत् उत्पादन हुने छ । उत्पादित विद्युत् १३२ केभी प्रसारण लाइनबाट कैलालीको पहलमानपुरमा रहेको सब स्टेसनमा जोडिने छ । करिब ८२ किलोमिटर लामो प्रसारण लाइन साँफेबगरबाट डोटी हुँदै कैलालीको पहलमानपुरसम्म पुग्ने आयोजनाले जनाएको छ । गोरखापत्र

clock बिहिबार ११, साउन २०८० ११:१३

प्रतिक्रिया