प्रधानमन्त्री प्रचण्ड रोम जाँदा आधा घण्टा विमानस्थलमा अरु उडान बन्द गरीने

  शनिबार ०६, साउन २०८० १०:४५

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज इटालीको रोम जाँदा बेलुका आधा घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अरु उडान नहुने भएको छ ।

बेलुका ५ बजेर ४० मिनेटदेखि ६ बजेर १० मिनेटसम्म अरु उडान नहुने विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिनुभएको छ । संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’ मा सहभागी हुन नेपाली प्रतिनिधीमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड आज बेलुका इटाली जान लाग्नुभएको हो । 

पर्सि ८ गतेदेखि संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना हुने युनाइटेड नेशन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्टमा प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

अतिकम विकसित देशको अध्यक्षको हैसियतमा उहाँले विशेष सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँ साउन ९ गते खाद्य प्रणाली परिवर्तन र अभ्यासमा सन्दर्भमा आयोजना हुने छलफलमा समेत सहभागी हुनुहुनेछ । प्रधानमन्त्री प्रचण्ड आउँदो १२ गते स्वदेश फर्कनुहुने उहाँको सचिवालयले जनाएको छ । 

clock शनिबार ०६, साउन २०८० १०:४५

प्रतिक्रिया