नीति तथा कार्यक्रम भन्दा बजेट फरक आएको नेकपा एसका उपनेता रावलको गुनासो

  बिहिबार २८, असार २०८० ११:३३

धनगढी । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका उपनेता प्रकाश रावलले सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट फरक परेको बताएका छन् ।

अघिल्लो सरकारको अर्थमन्त्री समेत रहेका रावलले अहिलेको बजेट सन्तुलित नभएको टिप्पणी गरेका हुन् । असार १ गते अर्थमन्त्री नरेश बहादुर शाहीले बजेट प्रस्तुत गरेका थिए । शाही नेकपा एकीकृत समाजवादीका तर्फबाट मन्त्री भएका हुन् ।

आजको बैठकमा नेकपा एकीकृत समाजवादीकै उपनेताले बजेटका असन्तुष्टि व्यक्त गरे । ‘नीति तथा कार्यक्रममा कृषि रोजगार र ऊर्जालाई पहिलो प्राथमिकता राखिएको थियो तर, बजेट त्यो अनुसारको आएन’ उनले भने ।

अघिल्लो पटक आफूले ल्याएको भन्दा निकै सानो आकारमा अहिले बजेट ल्याएको भन्दै रावलले असन्तुष्टि व्यक्त गरेका थिए ।

पूर्व अर्थमन्त्रीहरूको छलफलमा आफूले सुदूरपश्चिम प्रदेशका दुई हाइड्रो पावरको लागि बजेट विनियोजन गर्न सुझाव दिँदा पनि कार्यान्वयन नभएको गुनासो पोखे ।

उनले भने, ‘दुई हाइड्रो पावरको डिपिआर बनेको र त्यसमा १र१ अरब बजेट विनियोजन गर्न सुझाव दिँदा पनि कार्यान्वयन भएन । उता मोनोरेल, सुरुङ मार्ग, चिडियाखाना लागि बजेट दिइएको छ ।’

स्वास्थ्यको अवस्था विकराल भइरहेको हुँदा सरकारले स्वास्थ्य क्षेत्रमा चासो दिनु पर्ने बताए । निर्माण भइरहेका भूमिगत सिचाइको योजनाको काम रोक्न सिचाइ कार्यालयले पत्र पठाएपछि चुरेमा किसानहरू पानी विहीन भएको रावलले गुनासो पोखे ।

clock बिहिबार २८, असार २०८० ११:३३

प्रतिक्रिया