सुदूरपश्चिममा एक दशक अवधिमा पहाडी जिल्लाको जनसंख्या घट्दो, बढ्दै तराईमा

  शनिबार २३, असार २०८० १५:२७

डोटी। सुदूरपश्चिमका पहाडी जिल्लामा जनसंख्या घट्दो रहेकोमा तराईमा भने बढ्न थालेको छ। प्रदेशका ५ वटा पहाडी जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक क्रममा रहेको हो। २०७८ सालको जनगणनाअनुसार प्रदेशभित्रका तराईका जिल्लाको जनसंख्या वृद्धिदर उच्च देखिएको छ।

भने पहाडी जिल्लामा जनसंख्या घट्दो क्रममा रहेको छ। प्रदेशको जनसंख्या १० वर्षमा १ लाख ४२ हजार २६६ ले वृद्धि भएको छ । २०६८ सालको जनगणनाअनुसार सुदूरपश्चिमको जनसंख्या २५ लाख ५२ हजार ५१७ रहेकोमा २०७८ मा २६ लाख ९४ हजार ७८३ पुगेको छ। प्रदेशको वार्षिक जनसंख्या वृद्धिदर ०.५२ प्रतिशत रहेको तथ्याङ्क कार्यालय डोटीले सार्वजनिक गरेको विवरणले देखाएको छ।

प्रदेशको जनसंख्या वृद्धि भए पनि यहाँका ५ वटा पहाडी जिल्लाको जनसंख्या वृद्धिदर भने ऋणात्मक रहेको २०७८ को जनगणना प्रतिवेदनले देखाएको छ । अछामको जनसंख्या वृद्धिदर १.१३ प्रतिशतले ऋणात्मक रहेको छ । २०६८ मा यस जिल्लाको कुल जनसंख्या दुई लाख ५७ हजार ४७७ रहेकोमा २०७८ को जनगणनामा दुई लाख २८ हजार ८५२ मात्रै रहेको छ । बैतडीको जनसंख्या वृद्धिदर पनि ऋणात्मक छ । २०६८ को जनगणनामा २ लाख ५० हजार ८९८ जनसंख्या रहेको यस जिल्लामा पछिल्लो जनगणनामा दुई लाख ४२ हजार १५७ कायम भएको छ ।

२०६८ मा २ लाख ११ हजार ७४६ रहेको डोटीको जनसंख्या १० वर्षमा ६ हजार ९१५ ले घटेको छ । यस जिल्लाको वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक ०.३२ प्रतिशत रहेको छ। बझाङको जनसंख्या वृद्धिदर पनि ०.३० प्रतिशतले ऋणात्मक रहेको छ । २०६८ मा १ लाख ९५ हजार १५९ पुगेको यस जिल्लाको जनसंख्या १० वर्षमा एक लाख ८९ हजार ८५ मा झरेको छ।

डडेल्धुराको जनसंख्या १० वर्षमा २ हजार ४९२ ले घटेको छ । यस जिल्लाको वार्षिक जनसंख्या वृद्धिदर पनि ०.१७ प्रतिशतले ऋणात्मक रहेको छ। २०६८ मा यस जिल्लाको जनसंख्या १ लाख ४२ हजार ९४ रहेकोमा पछिल्लो जनगणनाअनुसार १ लाख ३९ हजार ६०२ कायम भएको छ ।

दार्चुला र बझाङ जिल्लाको जनसंख्यामा भने थोरैले वृद्धि भएको जनगणनाको पूर्ण प्रतिवेदनले देखाएको छ। दार्चुलाको जनसंख्यामा १० वर्षको अवधिमा ३६ जना थपिएका छन्। २०६८ को जनगणनाअनुसार यस जिल्लाको कुल जनसंख्या १ लाख ३३ हजार २७४ रहेकोमा २०७८ मा १ लाख ३३ हजार ३१० पुगेको छ । तथ्याङ्क कार्यालय डोटीले दार्चुलाको जनसंख्या स्थिर रहेको बताएको छ। पहाडी जिल्लाहरुमध्ये बाजुराको जनसंख्या वृद्धिदर भने धनात्मक देखिएको छ । यस जिल्लाको वार्षिक जनसंख्या वृद्धिदर ०।२५ प्रतिशत रहेको छ। २०६८ को जनगणना अनुसार यस जिल्लाको जनसंख्या १ लाख ३४ हजार ९१२ रहेकोमा २०७८ मा १ लाख ३८ हजार ५२३ पुगेको छ।

पहाडी जिल्लाबाट तीव्र बसाइसराइका कारण तराईका जिल्लाहरुमा जनसंख्या बढ्दै गएको छ । कैलालीको वार्षिक जनसंख्या वृद्धिदर १।४८ प्रतिशत रहेको छ। २०७८ को जनगणनाअनुसार कैलालीको कुल जनसंख्या ९ लाख ४ हजार ६६६ पुगेको छ । २०६८ मा यस जिल्लाको जनसंख्या ७ लाख ७५ हजार ७०९ रहेको थियो । यस्तै कञ्चनपुरको जनसंख्या वृद्धिदर १।२५ रहेको छ । २०७८ को जनगणनाअनुसार यस जिल्लाको कुल जनसंख्या ५ लाख १३ हजार ७५७ पुगेको छ । २०६८ को जनजणनामा यस जिल्लाको जनसंख्या ४ लाख ५१ हजार २ ४८ रहेको थियो। रोजगारीको अभाव, शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकताहरु उपलब्ध नहुनु, कृषि पूर्वाधारको कमीका कारण बसाइसराइ तीव्र हुँदा पहाडी जिल्लाको जनसंख्या घट्दै गएको जनसंख्याविद्हरुले बताएका छन्।

clock शनिबार २३, असार २०८० १५:२७

प्रतिक्रिया