कञ्चनपुरका नागरिकलाई वर्षातमा बाढीको त्रास, हिउँदमा सिँचाइ अभाव
कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीमा ४ लेनको पक्की पुल बनेपछि पनि दोधाराचाँदनीका वासिन्दाले अनेकन समस्यासित संघर्ष गर्नुपरेको छ। महाकाली नदीमा पक्की पुल बन्नुअघि यहाँ झोलुङ्गे पुलबाट दुईपांग्रे सवारीसाधन मात्रै आवतजावत हुन्थ्यो।
पछिल्लो समय भएका व्यवस्था परिर्वतनसँगै दोधाराचाँदनीले विकासमा गति लिए पनि हिउँदमा सिँचाइ अभाव र वर्षामा बाढीको मुख्य समस्या झेल्दै आउनुपरेको स्थानीयको दुःखेसो छ। दोधाराचाँदनीतर्फको ३ हजार ५०० हेक्टर क्षेत्रफल सिँचाइका लागि महाकाली नदीबाट पाउनुपर्ने पानी भारतीय बेवास्ताका कारण पाइएको छैन।
विक्रम संवत् २०२२ सालदेखि दोधाराचाँदनीमा बसोबास गर्दै आएका राजबहादुर थापामगरले सिँचाइ नहुँदा तरकारीसम्म फलाउन कठिन हुने गरेको बताए। ‘दोधाराचाँदनी अन्न उत्पादनका लागि उर्वर भूमि मानिन्छ तर यहाँ सिँचाइ सुविधा छैन,’ उनले भने, ‘नेताहरू चुनावमा मात्रै हामी गर्छौं भन्नुहुन्छ, त्यसपछि वास्ता गर्नुहुन्न।’ यहाँ सिँचाइ सुविधा उपलब्ध भए अन्न बालीसँगै बेमौसमी तरकारी फलाउन सकिने उनले बताए।
विक्रम संवत् २०२४ सालदेखि कुतियाकवरमा बस्दै आएका मायादेवी सुनारले यहाँ हरेक वर्ष बाढीले क्षति पु¥याउने गरेको बताए । ‘तीनतिर जोगबुडा नदी र एकतर्फ महाकाली नदीले घेरेको छ,’ सुनारले भने, ‘यहाँ डुबान र कटान धेरै हुन्छ बाढीकै कारण यहाँबाट धेरै अन्यत्र बसाइसरी गइसके।’ गत वर्ष बाढीले बेसार र तरकारी खेती बगरमा परिणत गरिदिएको उनले दुःखेसो पोखे।
४९ परिवारको बसोबास रहेको यो बस्तीमा तरकारी उत्पादन गरेर जीविकोपार्जन गर्ने गर्दछन्। स्थानीय वसन्ती साउँदले दोधाराचाँदनीमा उत्पादन धेरै हुने भए पनि सिँचाइ अभाव रहेको बताइन्। ‘हिउँदमा सिँचाइ अभाव हुन्छ, बर्षातमा बाढीको त्रास,’ उनले भनिन्, ‘बाढीले यहाँको बिघौं जग्गा बगरमा परिणत गरेको छ।’
दोधाराचाँदनीमा बेसार, तरकारी, धान, गहुँ र तोरीको उत्पादन राम्रो छ। बर्खामा बाढीले खेतमा नोक्सानी गर्ने गरेको छ भने हिउँदमा अन्न भित्र्याउन निकै समस्या झेल्नुपर्ने स्थानीय टेकबहादुर सुनारले बताए। ‘हामीले जहिल्यै त्रासमा जीवन बिताउनुपर्छ,’ सुनारले भने, ‘बर्खा लागे बाढीको त्रास हिउँदमा अन्न भित्र्याउन चिन्ता।’
प्रतिक्रिया