बैतडीमा स्वास्थ्य संयोजककी श्रीमती नै नक्कली स्वास्थ्यकर्मी

  सोमबार १८, असार २०८० १३:४५

बैतडी । पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संयोजक रामसागर साहकी श्रीमती नक्कली स्वास्थ्यकर्मी बनेर बिरामीलाई सुई लगाउँदा लगाउँदै पक्राउ परेकी छिन् ।

उनको साथबाट प्रहरीले औषधी र सुईसमेत बरामद गरेको छ । स्वास्थ्य शाखा संयोजक साहले श्रीमती श्यामा साहलाई जनकपुरबाट पञ्चेश्वर बोलाई औषधी पसल सञ्चालन गर्न लगाएका थिए ।  उनकी श्रीमतीको नाम राखेर श्यामा क्लिनिक चलाउँदै आएको पत्ता लागेको छ ।

पुख्र्यौली घर जनकपुर भए पनि विगत १७ वर्षदेखि बैतडी बस्दाबस्दै श्यामाले स्थानीय बिरामीसँग बैतडेली र डोटेली भाषा बोल्ने गरेको पाइएको छ । श्यामाले नै बिरामीको रगत तानेर ल्याबमा परीक्षण गर्ने गरेको बताइएको छ । उनी संग स्वास्थ्य उपचार तथा औषधीसम्बन्धी कुनै शिक्षा नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रशासन कार्यालयले स्थानीयको जनगुनासोपछि गत जेठ २ गते मेडिकल सिल गरेको थियो । प्रशासनले सिल गरेको मेडिकल पुनः सञ्चालन गरी बिरामीलाई सुई लगाउँदा लगाउँदै प्रहरीले श्यामा साहलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले प्रशासन कार्यालयले अवैध ठहर गर्दै सिल गरिएको श्यामा क्लिनिक पुनः सञ्चालन गरेको पाइएपछि सञ्चालक श्यामालाई पक्राउ गरिएको बताए ।

छैटौँ तहका सिनियर अहेव रामसागर साह विगत २७ वर्षदेखि पञ्चेश्वरका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत रहँदै आउनुभएको छ । स्थानीय तहको पुनर्संरचनापछि साहले गाउँपालिका स्वास्थ्य संयोजकको जिम्मेवारी पाउनुभएको हो ।

साहले पालिकाको स्वास्थ्य क्षेत्रको अनुगमन, नियमन तथा व्यवस्थापन गर्नुपर्ने दायित्व पाए पनि आफैँले श्रीमतीको नाममा गैरकानुनी काम गर्दै आएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । “श्रीमती पक्राउ परेपछि स्वास्थ्य संयोजक साह स्वास्थ्य कार्यालयमा आएर रुँदै छन् । पटक पटक सचेत गराउँदा मानेनन्, अब रोएर के हुन्छ ?,” उनले भने ।

स्वास्थ्य संयोजक साहले १७ वर्षदेखि तेजेन्द्र फार्मेसीको नामबाट मेडिकल चलाउँदै आउनुभएको थियो । स्थानीय तहको पुनर्संरचनापछि गाउँपालिकाले क्लिनिक दर्ता गर्न सक्ने अधिकार पाएपछि स्वास्थ्य संयोजक साहले श्रीमतीको नाम राखेर श्यामा क्लिनिक दर्ता गरेको पाइएको छ ।

पञ्चेश्वर गाउँपालिकामा दर्ता भएको भनिएको श्यामा क्लिनिक दर्ता प्रक्रिया नै नपुगेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भट्टले बताए । स्वास्थ्य संयोजकले मेडिकलमा श्रीमतीलाई राख्ने कमजोरी गरेको पञ्चेश्वर गाउँपालिकाका प्रमुख गोरखबहादुर चन्दले बताए । प्रशासनले अनुगमन गरेर एक पटक सिल गरेर सचेत गराएको विषयलाई गम्भीरतापूर्वक नलिँदा दुःख पाएको उनले बताए । गोरखापत्र

clock सोमबार १८, असार २०८० १३:४५

प्रतिक्रिया