‘सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाऔं’ : राज्यमन्त्री खड्का

  बिहिबार ११, मङि्सर २०८२ २०:०६


धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । 

आठौं सामाजिक सुरक्षा दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले बिहीबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । सामाजिक विकास कोषको समन्वयमा आयोेजित कार्यक्रममा राज्यमन्त्री खड्काले प्रदेशमा पनि यसका कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्नुभयो । 

मन्त्रालयका सचिव डा. हेमराज रेग्मीले पछाडि परेका वर्गलाई सामाजिक सुरक्षा कोषको पहुँचमा ल्याउन मन्त्रालय मातहतका कार्यालयमार्फत कामहरु भइरहेको बताउनुभयो । प्रदेशमा सामाजिक सुरक्षा कोषको कार्यालय स्थापनाका लागि मन्त्रालयमै कोठा उपलब्ध गराउन सकिने उहाँको भनाइ छ । 

सामाजिक सुरक्षा कोषमा आवद्ध नभएसम्म श्रम स्वीकृति नपाउने व्यवस्था भएपछि मात्र वैदेशिक रोजगारमा जानेहरु कोषमा सूचीकृत हुन थालेको सुरक्षित आप्रावासनका पञ्चराम चौधरीले बताउनुभयो । उहाँले सामाजिक सुरक्षा कोषमा सूचीकरण बढाउन स्थानीय तहसम्म पुग्न आवश्यक रहेको चर्चा गर्नुभयो ।  

त्यस्तै, युनिसेफका प्रकाश आचार्यले औपचारिक क्षेत्रकै श्रमिकसमेत कोषमा आवद्ध नरहेको उल्लेख गर्दै ग्रामीण क्षेत्रमा सचेतना फैलाउन जरुरी रहेको बताउनुभयो । सुदूरपश्चिमको ७० प्रतिशत श्रमिक भारतमा काम गर्ने गरेको भन्दै उहाँले उनीहरुलाई सामाजिक सुरक्षा कोषमा समेट्नु पर्ने उल्लेख गर्नुभयो । 

सामाजिक सुरक्षा कोषमा हालसम्म नेपालका २६ लाख ३७ हजार श्रमिक सूचीकृत भएको सामाजिक सुरक्षा कोषले जानकारी दिएको छ । सो कार्यालयका अनुसार औपचारिक श्रमिक ६ लाख १९ हजार, वैदेशिक रोजगारीमा रहेका १९ लाख ९६ श्रमिक कोषमा सूचीकृत भएका छन् । अनौपचारिक र स्वरोजगार क्षेत्रका जम्मा एक हजार ३८१ व्यक्ति कोषमा सूचीकृत भएका छन् । 

सामाजिक सुरक्षा कोषमा संस्थाको सूचीकरण २२ हजार ३३२ पुगेको जनाइएको छ । कोषको पोर्टफोलियो एक खर्ब २५ अर्ब रहेको सामाजिक विकास कोषका जयकृष्ण दुलालले जानकारी दिनुभयो । 

clock बिहिबार ११, मङि्सर २०८२ २०:०६

प्रतिक्रिया