नेकपा एसको कैलाली कमिटीले गर्यो नेकपामा नजाने घोषणा
धनगढी । धनगढीमा भोलि हुने ‘एकता सन्देश सभा’को पूर्वसन्ध्यामा विघटित नेकपा एसको कैलाली जिल्ला कमिटीले माओवादी केन्द्रसहितका १२ घटकले बनाएको नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कार्यक्रममा सहभागी नहुने घोषणा गरेको छ।
कमिटीका अध्यक्ष, सचिव र उपसचिवले संयुक्त विज्ञप्ति जारी गर्दै नयाँ गठित नेकपामा नजाने निर्णय सार्वजनिक गरेका हुन्। १२१ सदस्यीय जिल्ला कमिटीमध्ये ९१ सदस्य सहभागी बैठकले एकता प्रक्रियाबाट टाढा रहने निष्कर्ष निकालेको अध्यक्ष विमलकुमार जोशीले नेपाल प्रेसलाई बताए।
उनका अनुसार, "केपी ओली र प्रचण्ड दुवैले आवश्यक परे एकता र आवश्यक नपरे विघटन गर्ने पुरानै शैली दोह्याएका छन्। अहिलेको एकताले झन् कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाएको छ, त्यसैले हामी सहभागी नहुने निर्णयमा पुगेका हौँ।"
विज्ञप्तिमा हालको एकतामा १३ दल सहभागी भएको भनिए पनि आधारभूत संगठन नभएका समूहसम्म समेटिनुले यसको अर्थहीनता पुष्टि भएको उल्लेख छ। शाहीकालका मन्त्रीदेखि जातीय–भेगीय मुद्दा उठाउनेहरू र गैर–कम्युनिस्ट धारणाका समूहसम्म समेटिएको भन्दै यो एकता सिद्धान्तहीन भएको कमिटीको निष्कर्ष छ।
बैठकले प्रचण्ड–माधव नेतृत्वको नेकपाले कम्युनिस्ट आन्दोलनलाई क्षति पुर्याउने ठहर गर्दै व्यक्तिगत स्वार्थमा आधारित एकतामा आफूहरूले साथ नदिने जनाएको छ। साथै, एमालेलाई केपी ओलीले विसर्जनको दिशामा लगेको मूल्यांकन गर्दै कम्युनिस्ट आन्दोलनलाई जोगाउन नयाँ ढंगले पार्टी पुनर्गठनमा लाग्न आह्वान गरिएको छ।
प्रतिक्रिया