कैलालीमा एमालेका दर्जन नेता कार्यकर्ताको सङ्गठित सदस्यता ‘गायब’
कैलाली । आगामी महाधिवेशनलाई लिएर एमालेले मङ्सिर १३ गते प्रतिनिधि छनोट गर्ने तयारी गरिरहेको छ । यता कैलालीमा भने प्रतिनिधिको आकाङ्क्षी बन्न खोज्नेदेखि जिल्ला र प्रदेशस्तरका नेता कार्यकर्ताहरूको सङ्गठित सदस्यता नै भेटिएको छैन ।
एमाले केन्द्रीय सङ्गठन विभागले प्रमाणित गरेर आएको सूचिमा कैलालीमा हालसम्म १३ जना नेताहरूको नाम छैन । प्रदेश सभा सदस्यको निर्वाचनमा होमिएकादेखि जिल्ला पार्टीका सचिवालय सदस्यहरूको नाम कसरी छुट्यो भन्ने विषयमा अहिले एमालेले छानबिन गर्ने भएको छ ।
एमाले कैलाली इन्चार्ज नारदमुनि रानाका अनुसार आइतबार बैठक बसेर छानबिनका लागि एउटा समिति बनाइएको छ । उक्त समितिले रिपोर्ट पेस गरेपछि थप प्रक्रिया अघि बढ्ने रानाले बताए ।
‘धेरै साथीहरूको नाम छुटेको गुनासो आएको छ । मैले के कारणले छुटेको हो पत्ता लगाउनुप¥यो भनेर छानबिन गर्नू भनेको छु,’ रानाले भने, ‘कुनै गुटगत कारणले भन्ने होइन होला । अरू धेरै साथीको छुटेको भनिएको छ । भोलि रिपोर्ट आएपछि बाँकी कुरा बुझौँला है ।’
उनका अनुसार टेक बुढाको संयोजकत्वमा सम्बन्धित पालिका र वडा कमिटी अध्यक्ष रहनेगरि छानबिन समिति बनाउने निर्णय गरिएको छ । पार्टी सदस्यताको नाम छुट्ने १३ मध्ये केही ४० वर्षमुनिको उमेरबाट प्रतिनिधि बन्ने तयारीमा थिए ।
तीन कार्यकाल कैलाली अखिलको अध्यक्षसमेत रहेका पार्टी जिल्ला सदस्य कुमार बडैला, जिल्ला कमिटी सचिवालय सदस्य दीपक रावल , राष्ट्रिय युवा सङ्घ प्रदेशको सहसंयोजक तथा जिल्ला कमिटी सदस्य प्रकाश खड्का उनीहरू तीनै जना उमेर समूहबाट प्रतिनिधिको आकाङ्क्षी थिए । तर, नियतवश आफूहरूको सदस्य खारेज गरेको दीपक रावलले बताए ।
‘नियतवश हाम्रो नाम काटिएको छ । अब हामी महाधिवेशन प्रतिनिधि हुने सम्भावना देखिएन,’ रावलले भने, ‘ हामीलाई पार्टीभित्र गुटबन्दीको सिकार गरियो । उहाँहरूलाई जत्तिकै पार्टी माया हामीलाई पनि हुन्छ नि ।’
१७ वर्षदेखि आफू सङ्गठित सदस्य रहेको बताउँदै उनले यसपटक प्रतिनिधि रोक्न यस्तो गरिएको आरोप लगाए । ‘महाधिवेशनबाट वञ्चित गराउन खोजिएको हो जस्तो लाग्छ,’ रावलले भने ‘कस्तो पार्टी बनाउन खोजिएको हो खोइ । हामीलाई न्याय गर्छ भन्ने लाग्छ ।’
अघिल्लो पटक प्रदेश सभामा एमालेबाट निर्वाचन लडेका जयनारायण जोशी, पूर्व प्रदेश कमिटी सदस्य सावित्री देवी सापकोटा,जिल्ला कमिटी सदस्य सुरत बहादुर विष्ट, पूर्व जिल्ला कमिटी गजेन्द्र स्वारसहित १३ जनको नाम नरहेको भन्दै अहिले छानबिन सुरु भएको छ ।
तल्ला कमिटीबाट सङ्गठित सदस्यता नवीकरण गरेको रसिद प्रमाण हुँदाहुँदै पनि जिल्लाबाट नाम पठाउँदा छुटाइएको उनको आरोप छ । प्रकाश खड्काले पनि योजनबद्ध रूपले आफूहरूलाई पाखा लगाइएको आरोप लगाए ।
‘४० वर्षभन्दा मुनिका कोटाबाट दीपक दाइ र म दुवै प्रतिनिधि बन्ने तयारीमा थियौँ । दुवै जनाको नाम योजनबद्ध रूपले प्रतिनिधि रोक्ने गरी काटियो’ उनले भने, ‘मैले बुवा आमा श्रीमतीकोसहित मेरो नवीकरण गरेको थिए सबैको आयो मेरो आएन । हामीसँग प्रमाण पनि छ । ’
पार्टी सदस्यताको नवीकरण गरेको प्रमाणसहित उनीहरूले जिल्ला कमिटीलाई निवेदन दिएपछि अहिले १३ जनाको नाम थप गर्न जिल्ला कमिटीले प्रदेश कमिटी हुँदै केन्द्रीय सङ्गठन विभागमा पत्राचार गरेको छ । जिल्ला कमिटीको सिफारिसको आधारमा प्रदेश कमिटीले पनि छुटेको नामहरू संशोधन गर्न केन्द्रलाई भनिसकेको छ ।
‘जिल्लामा केही कमरेडहरूको नाम छुटेको भन्ने हामीलाई पत्र आएपछि हामीले केन्द्रलाई नाम थप गर्न पत्र लेखिसेका छौँ’ प्रदेश सचिव रणबहादुर चन्दले भने ।
प्रतिक्रिया