धनगढीमा ‘मोडल सिटी’को यात्रा : गोपाल हमालका परिवर्तनशील कामले नगर रूपान्तरणको दिशामा

  मङ्गलबार ०९, मङि्सर २०८२ ०७:१७

धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले चुनाव जितेको एक वर्षभित्रै थुप्रै नमुना कामको सुरुवात गरे, जसले देश–विदेशमै चर्चा बटुलेको छ। तीमध्ये धेरै काम सम्पन्न भइसकेका छन् भने केही अझै जारी छन्। हमालका अनुसार बाँकी काम पनि हालै भित्रै पूरा गर्ने लक्ष्यसहित आफू ‘फुल–एक्शन मोड’ मा छन्। २०७९ को स्थानीय निर्वाचनमा १२ हजारभन्दा बढी मत ल्याएर निर्वाचित भएका हमालले चुनावी अभियानमै “धनगढीलाई मोडल नगर बनाउने, भ्रष्टाचार हुन नदिने’’ प्रतिवद्धता जनाएका थिए। आज उनका कदमहरूले त्यो प्रतिबद्धता व्यवहारमा रूपान्तर भइरहेको संकेत दिन थालेको छ।

डुबानमुक्त अभियान : ५० वर्ष पुरानो समस्या समाधानतर्फ
धनगढी सहर हरेक वर्षायाममा डुबानको भयसँग बस्थ्यो। कुला–नाला अतिक्रमण, अव्यवस्थित बस्तीसँगै वर्षौंदेखि रोकिएको काम हमालले पदभार ग्रहण लगत्तै सुरु गराए। २०७९ असार १ देखि उपमहानगरको डोजर २०२१ सालको नापी नक्सा लिएर सडक, नाला र खोला किनार खाली गराउन निस्कियो। स्थानीयवासीले सक्रिय साथ दिए—हदसम्म कसैले आफ्नो निजी जग्गा समेत विकासका लागि त्यागे। अभियान अहिले पनि निरन्तर छ र धनगढीलाई दीर्घकालीन रूपमा डुबान संकटबाट मुक्त पार्ने अपेक्षा गरिएको छ।

सडक विस्तार : १० वर्षदेखि रोकिएको काम बल प्रयोगबिना सम्पन्न
धनगढी बजारको साँघुरोपन र सवारी जाम दीर्घकालीन समस्या थियो। २०७० देखि हुलाकी सडक परियोजनाको काम अवरोधमा परिरहेको अवस्थामा, २०७९ असोजमा उपमहानगरले दायाँ–बायाँ १५–१५ मिटरभित्र पर्ने संरचना हटाउन सूचना जारी गर्यो। सुरुमा विरोध भए पनि हमाल स्वयम् प्रत्येक टोलमा पुगे—“विकासका लागि भोट दिनुभएको हो, अब सहयोग नगरे यसको अर्थै हुँदैन,” भन्दै उनले स्थानीयलाई मनाए।

४२८ संरचना बल प्रयोग नगरी हटाए
दशकौँ व्यापारिक समाजमा बसेका कारण संवाद सहज भयो। अन्ततः ४२८ घर–व्यापारिक संरचना स्वयं स्थानीयको सहमतिमा हटाए। तर करिब ६० करोड रुपैयाँ अभाव थियो। यतिबेला हमालको राजनीतिक रणनीति काम आयो—जिल्ला समन्वय समिति गठनमा आफ्नो निर्णायक मत प्रदेश सरकारले बजेट सुनिश्चित गरेमात्र दिने अडान लिए। उनको सर्त अनुसार प्रदेश सरकारले ६६ करोड रुपैयाँ छुट्टायो, पछि थप बजेट पनि दियो। हाल ४–लेन सडक पार्किङ, फुटपाथ, नालीसहित अन्तिम चरणमा छ र कालोपत्रे कार्य तीव्र गतिमा भइरहेको छ।

स्वास्थ्य सेवा : ‘विशेषज्ञ डाक्टर घर–आँगनमै’
हमाल नेतृत्वले स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ।

१. मासिक निःशुल्क विशेषज्ञ क्लिनिक
२०७९ साउन १ देखि १९ वटै वडामा महिनामा एक दिन विशेषज्ञसहित निःशुल्क क्लिनिक सञ्चालन भइरहेको छ।

जनरल फिजिसियन

स्त्रीरोग विशेषज्ञ

भिडियो एक्स–रे

ईसीजी

सुगर तथा अन्य परीक्षण

आर्थिक रूपमा कमजोर र ग्रामीण क्षेत्रका ज्येष्ठ नागरिकका लागि यो कार्यक्रम जीवनरक्षक साबित भइरहेको छ।

२.‘आमा बचाउ’ अभियान
गर्भवती, सुत्केरी र शिशु मृत्युदर शून्य बनाउने लक्ष्यअन्तर्गत

निःशुल्क एम्बुलेन्स

तत्काल अस्पताल पु¥याउने व्यवस्था

अहिलेसम्म सयौँ गर्भवतीले राहत पाएका छन्।

शिक्षामा सुधार स् संरचनाबाट गुणस्तरतर्फ
२०८० साललाई उपमहानगरले ‘शैक्षिक सुधार वर्ष’ घोषणा गर्दै शिक्षा क्षेत्रमा ऐतिहासिक कदम चाल्यो।

विद्यालय समायोजन
विद्यार्थी संख्या न्यून, कमजोर नतिजा र भौगोलिक नजिक भएका विद्यालयहरू मर्ज गरेर स्रोत र शिक्षक व्यवस्थापन सहज बनाइयो।

अनियमितताको अन्त्य
लाइसेन्सविना कार्यरत शिक्षक हटाइए।
शिक्षक–विद्यार्थी अनुपात मिलाउन नयाँ दरबन्दी मिलाइयो।
दुई अनुभवी ‘मेन्टर शिक्षक’ राखेर नवप्रवेशी शिक्षकलाई सिकाइने व्यवस्था गरियो।

मेयर हमालको व्यक्तिगत योगदान
२०८० मा हमालले आफैले आफ्नो सरकारी सुविधा वापतको ८९ लाख ९२ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री शून्य नतिजा ल्याउने विद्यालयहरूलाई वितरण गरे। उपमहानगरले ग्रामीण क्षेत्रका पाँच विद्यालयलाई ‘नमूना विद्यालय’ बनाउन काम थालिसकेको छ—स्मार्ट बोर्ड, अंग्रेजी माध्यम, प्रेरणा र प्रोत्साहन कार्यक्रमसहित।

ज्येष्ठ नागरिक र एकल महिलाका लागि सम्मान यात्रा
उपमहानगरले हरेक वडाका ज्येष्ठ नागरिक तथा एकल महिलालाई मुक्तिनाथ दर्शन गराउँदै आएको छ।
निजी अस्पतालहरूसँग सहकार्य गरी

विशेषज्ञ शुल्क मिनाहा

उपचारमा सहुलियत
जस्ता व्यवस्था मिलाइएको छ।

उज्यालो तथा हरियाली अभियान : सुन्दर धनगढीतर्फ
६–लेन सडकमा स्मार्ट सडकबत्ती, हाइमास्ट लाइट, राष्ट्रिय झण्डा रंगका LED लाइट जडानपछि धनगढी झिलिमिली देखिन्छ। विभिन्न स्थानमा रोपिएका बिरुवा अहिले ठूलो र आकर्षक बोटमा रूपान्तर भइसकेका छन्, जसले शहरको सौन्दर्य अभिवृद्धि गरेको छ।

प्लास्टिक प्रतिबन्ध र महिला सशक्तीकरण
‘प्लास्टिकमुक्त धनगढी’ अभियानअन्तर्गत प्लास्टिक झोला निषेध गरिएको छ। विकल्पका रूपमा सालका पातबाट दुनाटपरी बनाउने तालिम महिलालाई दिइएको छ—अहिले धेरै महिलाले यसबाट आम्दानी गरिरहेका छन्। प्लास्टिक फूलको प्रयोग रोक्दै पुष्पखेती विस्तार गरिन थालेको छ, जसले किसानलाई स्थिर बजार दिएको छ।

फोहोर व्यवस्थापन र वातावरण संरक्षण
सडक व्यापारलाई निश्चित क्षेत्र तोकियो

घर–घरमै फोहोर वर्गीकरण सुरु

सूक्ष्म फोहोर वर्गीकरण केन्द्र सञ्चालन

जथाभावी फोहोर फाल्नेलाई जरिवाना

अतिक्रमित तथा संरक्षणविहीन ताल पहिचान गरेर भू–जल पुनर्भरण नीति लागू

धनगढीलाई बढ्दो मरुभूमिकरणबाट जोगाउने प्रयास तीव्र छ।

मानवीय तथा सुरक्षा सम्बन्धी काम
‘हर घडी नगर प्रहरी’ परिचालन

विपन्न परिवारको काजकिरिया नपुग्ने अवस्थामा आर्थिक सहयोग

नगर प्रहरीले सलामी दिएर सम्मान

सार्वजनिक शौचालय निर्माण

शनिबारे मेला लगायतका कार्यक्रम व्यवस्थापन

यी कार्यले उपमहानगरको मानवीय छवि बलियो बनाएको छ।

सहकार्यमा कुशल नेतृत्व
हमाल हरेक दिन उपमेयर, प्रमुख प्रशासकीय अधिकृत तथा विभागीय प्रमुखसँग बैठक बस्छन्।
फरक–फरक दलका जनप्रतिनिधि भए पनि कार्यपालिकामा कुनै ठूला विवाद छैन—उनको समन्वयकारी क्षमताको परिणाम।

“समय कम छ, तर काम धेरै छ”
गोपाल हमाल भन्छन्—“अब मेरो कार्यकाल धेरै छैन। बाँकी समय चुपचाप बसेर सबै काम पूरा गर्न चाहन्छु।’’ उनले सुरु गरेका अधिकांश योजना यही कार्यकालमै पूरा गर्ने लक्ष्यसहित धनगढीलाई ‘मोडल सिटी’ मा रूपान्तरण गर्ने सपना अघि बढाइरहेका छन्।

clock मङ्गलबार ०९, मङि्सर २०८२ ०७:१७

प्रतिक्रिया