सुदूरपश्चिममा को बन्ला नेपाली कम्युनिस्ट पार्टीको इन्चार्ज ?
धनगढी । १९ कात्तिकमा काठमाडौंमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका १२ दलबीचको एकता भयो । एकतापछि बनेको नेपाली कम्युनिस्ट पार्टीले एकताको सन्देशका लागि सुदूरपश्चिमबाट एकता सभाको सुरुवात गर्दैछ ।
१२ मंसिरमा सुदूरपश्चिम प्रदेशमा एकता सन्देश दिने गरी सभा आयोजना गरेको छ । उक्त सभाभन्दा पहिला एकतामा आएका र प्रदेशमा संगठन भएका पार्टीहरूबीच एकता गरेर समिति बनाउने तयारी गरिएको छ । सुदूरपश्चिम प्रदेशमा मुख्य माओवादी केन्द्र, नेकपा एस र भीम रावलको जागरण अभियान छन् । अन्य पार्टीहरूको प्रतिनिधिमूलक सदस्यहरू हुन सक्ने नेताहरू बताउँछन् ।
माओवादीको प्रदेश समिति पाँच सयजतिको र नेकपा एसको तीन सयजतिको छ । रावलको अभियान थपिँदा नौ सयजतिको प्रदेश समिति बन्न सक्ने माओवादीका सुदूरपश्चिम प्रदेश समिति सचिव जनक बुढा बताउँछन् । उनले भने, ‘तीन वटाबाट र अन्यका प्रतिनिधि जोड्दा ८–९ सयको समिति बन्छ होला । केन्द्रीय नेताहरू छलफलमा लाग्नुभएको छ ।’
अहिले प्रदेशमा इन्चार्ज, सहइन्चार्ज, संयोजक र सहसंयोजकको व्यवस्था गरेर अरु सदस्य बनाउने तयारी गरिएको छ । सुदूरपश्चिममा इन्चार्ज रावललाई दिएमा संयोजक र सहइन्चार्ज माओवादीले पाउने देखिन्छ ।
माओवादी स्रोतका अनुसार सुदूरपश्चिममा इन्चार्ज रावललाई बनाउने र संयोजक र सहइन्चार्ज माओवादीले पाउनेछ । उक्त स्रोतले भन्यो, ‘भीव रावलजीलाई इन्चार्ज बनाउने तयारी छ । संयोजक माओवादी र सहसंयोजक नेकपा एसले पाउने देखिन्छ । सहइन्चार्ज पनि माओवादीले पाउने होला ।’ सुदूरपश्चिमबाट इञ्चार्जको दाबेदार माओवादी केन्द्रका खगराज भट्ट पनि छन् । माओवादी सुदूरपश्चिमका संसदीय दलका नेतासमेत रहेका उनी पार्टीका पूर्वप्रदेश इञ्चार्ज पनि हुन् ।
प्रतिक्रिया