सुदूरपश्चिमका राज्यमन्त्री खड्काको आरोपः जेन्जी आन्दोलनक्रममा कर्मचारीले नै विरोध गरे

  शनिबार ०६, मङि्सर २०८२ ०९:५८

डोटी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले जेन्जी आन्दोलनक्रममा कर्मचारीहरुलेनै मन्त्री र सांसदहरुको विरोध गरेको आरोप लगाएकी छन् ।

‘जेन्जी आन्दोलनक्रममा भौतिक संरचना क्षति भएका थिए, मानवीय क्षति भएर देश शोकमा थियो, केही दिन त हामी बाहिर पनि निस्कन सकेका थिएनौँ,’ राज्यमन्त्री खड्काले भनिन् , ‘त्यतिबेला केही कर्मचारीहरुले नै यिनीहरु कहिले जान्छन् पदबाट ? यिनिहरु पनि छिटो जानु पर्छ भन्दै हाम्रो विरोध गरिरहेका थिए ।’ उनले थपिन्, ‘सबै कर्मचारीहरुले त्यसो नगर्नु भएको होला तर केही कर्मचारीहरुले सार्वजनिकरुपमै यस्ता अभिव्यक्ति दिइरहेका थिए ।’

जनप्रतिनिधि भएन भने कर्मचारीले मात्रै गरेर सबै कुरा हुने हो त ? भन्ने प्रश्न गर्दै खड्काले जनप्रतिनिधि र कर्मचारी मिलेर काम गरे मात्रै समस्याको समाधान हुने बताइन् । एकले अर्काको विरोध मात्रै गर्ने हो भने यसले कसैलाई सफलता नमिल्ने उनको भनाइ थियो ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आयोजना गरिएको आर्थिक वर्ष २०८२/८३ को एकीकृत वार्षिक स्वास्थ्य समीक्षा गोष्ठीमा सहभागी हुन डोटी पुगेकी सामाजिक विकास राज्यमन्त्री खड्काले जेन्जी आन्दोलनपछि राज्यका हरेक ईकाईहरुले परिवर्तित परिवेशअनुसार काम गर्नु पर्ने बताइन् । आफूहरुले नियमित काम गर्दागर्दै पनि बिद्रोह भएको र यसको समीक्षा गर्दै अगाडि बढ्नु पर्ने उनको भनाइ छ ।

जनप्रतिनिधिहरुबाट कर्मचारीलाई काम गर्नमा कुनै दबाब नदिएको समेत मन्त्री खड्काले दाबी गरिन् । ‘कुन पार्टीको मन्त्री भयो भन्ने ठूलो कुरो होइन, कस्तो व्यक्ति मन्त्री भयो भन्ने ठूलो कुरा हो,’ मन्त्री खड्काले भनिन्, ‘जुनसुकै व्यक्ति मन्त्री भए पनि कर्मचारीहरुसँग समन्वय गर्ने हुनुपर्छ ।’

clock शनिबार ०६, मङि्सर २०८२ ०९:५८

प्रतिक्रिया