रेशम चौधरी रिहाइ हुनुपर्छ : जसपा अध्यक्ष यादव

  आइतबार १२, चैत २०७९ १६:०७

धनगढी। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले रेशम चौधरीलाई रिहाइ गरिनुपर्ने बताएका छन् । आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले चौधरी निर्दोष रहेकाले रिहाइ गर्नुपर्ने बताएका हुन् ।

‘रेशम चौधरीलाई रिहा गर्नु पर्दछ र थरुहट आन्दोलनले उठाएका जायज मागलाई राज्यले सम्बोधन गर्नुपर्छ,’ अध्यक्ष यादवले भने, 'उहाँहरूका मागलाई सरकारले पूरा गर्नुपर्छ ।’

चौधरी केही महिनाभित्रै रिहाइ हुने सम्भावना रहेको उनले बताए । सर्वोच्चले केही दिनमै उनलाई रिहाइ गर्ने सम्भावना रहेको उनले बताए । ‘समग्रमा हेर्नुपर्दा उहाँ निर्दोष देखिनुहुन्छ । मुद्दाको प्रकृति हेर्दा उहाँले रिहाइ पाउनुपर्छ,’ उनले भने ।

एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी

अध्यक्ष यादवले अबको एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए । अहिलेको गठबन्धनले मूर्त रूप लिएको बताउँदै उनले अब जसपा पनि सरकारमा सहभागी हुने बताए ।

‘एमालेसहितको गठबन्धनका बेला सरकार कुन दिशामा अगाडि बढ्छ भन्ने अन्योलका कारण हामी सरकारमा गएका थिएनौँ,’ उनले भने, ‘अब जसपा पनि सरकारमा सहभागी हुन्छ ।’

अध्यक्ष यादवले सबैको सल्लाहमा मन्त्री सिफारिस गरिने बताए । उनले जसपाले कम्युनिस्ट आन्दोलन त्यागेर समाजवादतर्फ उन्मुख भएकोसमेत बताए । समाजवादी र जसपा एकता गर्ने सम्बन्धमा छलफल भएको उनले बताए ।

जसपा, एकीकृत समाजवादी र माओवादी केन्द्रबीच समाजवादी मोर्चा बनाउने कुरा पनि अघि बढेको बताउँदै उनले थप कुरा भविष्यमा थाहा हुने बताए ।

clock आइतबार १२, चैत २०७९ १६:०७

प्रतिक्रिया