"मुख्यमन्त्रीसँग कुनै आस छैन, कमिसन चढाएर योजना दिन बन्द गर्नुस्" — दिपायलका मेयर खड्का

  शुक्रबार २८, कार्तिक २०८२ ०६:३१

धनगढी । डोटीको दिपायल सिलगढीका नगर प्रमुखले मुख्यमन्त्री कमलबहादुर शाहसँग कुनै आस नभएको बताएका छन्। मुख्यमन्त्रीकै उपस्थितिमा कात्तिक २५ गते दिपायलमा भएको कार्यक्रममा मेयर खड्काले मुख्यमन्त्री शाह र सुदूरपश्चिम प्रदेश सरकारको कार्यशैलीको खुलेर आलोचना गरेका हुन्।

मेयर खड्काले ८० प्रतिशत कार्यालयमा अनियमितता हुने गरेको दाबी गरेका छन्। उनले सरकारी अड्डाप्रति जनाताको विश्वास हराएको टिप्पणी गरेका छन्। "मुख्यमन्त्रीसँग व्यक्तिगत सम्बन्ध छ। तर अन्य कुनै पनि प्रकारको आस छैन," उनले भनेका छन्, "८० प्रतिसत सरकारी कार्यालयमा अनियमितता हुन्छ। त्यो रोक्न सरकारलाई कसले छेकेको छ?"

प्रदेश सरकारले अहिलेसम्म दिपायल सिलगढी नगरपालिकाले सिफारिस गरेको योजनामा बजेट नहालेको मेयर खड्काले बताएका छन्। नगरपालिकाबाट सिफारिस गरिएका योजनामा बजेट नहालेर झ्याल तथा झोलाबाट खरिदबिक्री भएका योजनामा मात्रै प्रदेश सरकारले बजेट हाल्ने गरेको तथ्य र प्रमाण दिन आफू तयार रहेको मेयर खड्काले बताएका छन्।

प्रदेश सरकारले पालिकाले सिफारिस गरेको कुनै पनि योजनामा पैसा नहाल्ने गरेको बताउँदै कैलाली र कञ्चनपुरमा मात्रै बजेट केन्द्रित हुने गरेको मेयर खड्काको आरोप छ। उनले प्रदेश सरकार र मुख्यमन्त्री शाहले स्रोतको समान वितरण गर्न नसकेको बताएका छन्। "प्रदेश सरकारले बमदमासीको हद नाँघेको छ। मुख्यमन्त्रीको सबैले बिरोध गर्छन्। मालाखादा लगाउनेहरूले पनि मुख्यमन्त्रीको कुरा काट्छन्," उनले भने, "घुसखोरी धेरै भएको छ। कमिसन चढाएर प्रदेशबाट योजना ल्याइन्छ, यो कहिले बन्द हुन्छ?"

सुदूरपश्चिमका ८८ वटै पालिकामा प्रदेश सरकारले कमिसन खाएर बजेट हाल्ने गरेको मेयर खड्काको दाबी छ। उनले मुख्यमन्त्रीलाई आफ्नो निर्वाचन क्षेत्र तथा प्रदेश मन्त्रीहरूलाई टोल विशेषको मन्त्री भएको टिप्पणी गरेका छन्। "मुख्यमन्त्री निर्वाचन क्षेत्रमा सिमित रहेका छन् भने मन्त्रीहरू आफ्नो टोलमा सिमित छन्," उनले प्रश्न गरेका छन्, "मुख्यमन्त्रीले स्रोतको समान वितरण गर्न किन सकेनन्रु चाहेजति योजना आफ्नो निर्वाचन क्षेत्रमा लगेर मन्त्रीहरूलाई पनि आफ्नो टोलमा मात्रै योजना हाल्न दिएको रुपमा बुझ्ने कि नबुझ्ने ?"

मुख्यमन्त्री शाहसँग तीन वर्षमै आशा तुहिएको मेयर खड्काले बताएका छन्। सुदूरपश्चिम सरकारसँग अबका दिनमा कुनै आशा नराख्ने र कुनै भिख नमाग्ने मेयर खड्काले उद्घोष गरेका छन्। राज्यको स्रोत वितरणमा चरम भ्रष्टाचार भएकाले जनाता आक्रोशित भएको मेयर खड्काको भनाइ छ। लटपट गरेर खाने समय सक्किएको बताउँदै आर्थिक अपराध गर्ने जोकोही दण्डित हुनुपर्ने मेयर खड्काले बताएका छन्। प्रदेश सरकारले डोटी जिल्लाको अपमान गरेको र यो अपमान सह्य नहुने उनको उद्घोष छ।

clock शुक्रबार २८, कार्तिक २०८२ ०६:३१

प्रतिक्रिया