आगजनी र तोडफोड पछि सुदूरपश्चिम प्रदेश सभा बैठक सञ्चालन अनिश्चित

  मङ्गलबार २१, असोज २०८२ १२:३८

धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक सञ्चालन अनिश्चित बनेको छ। आगजनी र तोडफोड गरिएको प्रदेश सभा भवनसहित अन्य संरचना मर्मत नगरिएकाले प्रदेश सभा बैठक सञ्चालन अनिश्चित बनेको हो। जेनजी आन्दोलनका क्रममा प्रदेश सभा भवनसहित प्रदेश सभा सचिवालय, विषयगत समितिका कार्यालय, संसदीय दलका कार्यालयमा आगजनी र तोडफोड गरिएको थियो।

आगजनी र तोडफोडबाट प्रदेश सभाका ९० प्रतिशत संरचना नष्ट भएको छ । मर्मत नगरी बैठक सञ्चालनको अन्य कुनै विकल्प नरहेका कारण प्रदेश सभा बैठकको सम्बन्धमा अहिलेसम्म कुनै पनि टुङ्गो नलाइएको सभामुख भीमबहादुर भण्डारीले बताए। प्रदेश सभामा आगजनी र तोडफोड भएको एक महिना पुग्न लागे पनि मर्मतको काम अझै सुरु भएको छैन।

मर्मतको कार्य अगाडि बढाउन छलफल भइरहेको भन्दै सभामुख भण्डारीले मर्मत नगरिकन प्रदेश सभा बैठक सञ्चालन गर्र्न नसकिने उल्लेख गरे। उनले थपे, 'ठाउँ नै छैन, कहाँ बसाउने रु अब सबै काम तिहारपछि मात्रै हुन्छ।' प्रदेश सभाको पछिल्लो बैठक भदौ ५ गते बसेको थियो । जेनजी आन्दोलनकारीले भदौ २४ गते आगजनी र तोडफोड गरेपछि नीति निर्धारण तथा कानुन निर्माण जस्ता महत्वपूर्ण कार्य गर्ने यो संस्था बन्द रहने समय अझै लम्बिएको छ।

आगजनी र तोडफोडबाट १२ करोड रुपियाँभन्दा बढी क्षति भएको सभामुख भण्डारीले उल्लेख गरे। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले तयार पारेको प्रारम्भिक विवरण अनुसार प्रदेश सभा सचिवालयमा आगजनी र तोडफोडबाट सात करोडभन्दा बढी क्षति भएको छ। आगजनीबाट छ करोड ९३ लाख २१ हजार रुपियाँ बराबरका भौतिक सम्पत्ति नष्ट भएको जनाइएको छ।

यसै गरी प्रदेश सभा सचिवालयले भुक्तानी दिन बाँकी रहेको आठ लाख ६० हजार रुपियाँ बराबरको दुई थान डिजिटल डिस्प्ले बोर्ड, ६० हजार रुपियाँ बराबरको दुई थान सोफासेट जलेर नष्ट भएको छ । यसका भुक्तानी दिन बाँकी रहेको विवरणमा उल्लेख छ । यसै गरी सहरी विकासबाट भएको ठेक्कामध्ये हस्तान्तरण नभएको रोष्टम एक थान, एसी दुई थान जलेर नष्ट भएको जनाइएको छ।

प्रदेश सभा सचिवालयको ६९ लाख ९९ हजारको एउटा मिनी बस, तीन करोड ३१ लाख ४९ हजार रुपियाँको छ वटा जिप, ७१ लाख ९५ हजार रुपियाँको पिकअप भ्यान, आठ लाख २६ हजार बराबरको चार वटा मोटरसाइकल नष्ट भएको विवरणमा उल्लेख छ।

clock मङ्गलबार २१, असोज २०८२ १२:३८

प्रतिक्रिया