१० लाखमुनिका योजना कटौती गर्ने मुख्यमन्त्री शाहको प्रस्ताव

  शुक्रबार १०, असोज २०८२ १०:५४

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा खर्च कटौतीका लागि १० लाखभन्दा कम लागतका योजनाहरू बजेटबाट कटौती गर्ने प्रस्ताव गरेका छन् ।

मुख्यमन्त्री शाहले बिहीबार धनगढीमा सर्वदलिय बैठक राखेर योजना कटौतीको प्रस्ताव गरेका हुन् । तर सत्ता साझेदार एमालेले यसमा असहमति जनाएपछि निर्णय हुन नसकेको बैठकमा सहभागी एक नेताले बताए ।

जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिमा सकारात्मक सन्देश दिनुपर्ने भन्दै शाहले योजना कटौतीको प्रस्ताव गरेका थिए । स्रोतका अनुसार योजना कटौतीको प्रस्तावमा भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले असहमित जनाएका थिए ।

एमालेबाट मन्त्री बनेका पालले योजनाहरू कार्यान्वयनको प्रक्रिया सुरु भइसकेको दावी गर्दै कटौती गर्न नहुने धारणा राखेका थिए ।नेता रावल पनि योजना कटौतीको विपक्षमा उभिएका थिए । उनले खर्च कटौती गरेर सकारात्मक सन्देश दिनुपर्ने, तर योजना कटौती गर्न नहुने धारणा राखेका थिए ।

बैठकमा सहभागी एक सांसदका अनुसार भौतिकमन्त्री पालले पाँच लाखभन्दा कमका योजना कटौती गर्न सकिने बताएका थिए । प्रमुख प्रतिपक्षी माओवादी सुदूरपश्चिम संसदीय दलका उपनेता अक्कलबहादुर रावलले भने उक्त प्रस्तावको समर्थन जनाएका थिए ।

‘२५ लाखभन्दा कमका योजना बजेटमा नराख्ने भनेर सरकार आफैले घोषणा गरेको थियो, तर योजनाहरू राखिए । हामीले त्यस्ता योजना कटौती गर्नुपर्छ भनेर सहमति जनायौँ,’ रावलले भने, ‘तर केही साथीहरूमा आफ्ना योजना जोगाउने चिन्ता देखियो ।’

clock शुक्रबार १०, असोज २०८२ १०:५४

प्रतिक्रिया