जेनजी आन्दोलनमा क्षति पुगेका सुदूरपश्चिमका मन्त्रालयहरूमा प्रदेश प्रमुखद्वारा निरीक्षण

  शुक्रबार १०, असोज २०८२ १०:५०

कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी भएका मुख्यमन्त्री कार्यालय, प्रदेशका मन्त्रालय , प्रदेश सभा र जिल्ला प्रशासन कार्यालयको अवलोकन निरीक्षण गरेका छन् ।

२४ भदौमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयसहित प्रदेशका सबै मन्त्रालय र प्रदेश सभा क्षेत्रमा आगजनी, तोडफोड र लुटपाट गरिएको थियो । बिहीबार ती क्षेत्रको अवलोकन गर्दै प्रदेश प्रमुख मियाँले सेवा प्रवाहबारे चासो राखेका थिए ।

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले प्रदेश प्रमुखलाई आगजनीबाट क्षतिग्रस्त भएका कार्यालयहरू र त्यसले सेवा प्रवाहमा भएका समस्याहरू बारे जानकारी गराएका थिए । उनले नागरिकता लगायतका महत्त्वपूर्ण कामहरू सुचारु भइसकेको भन्दै राहदानी लगायतका कामहरू पनि चाडै सुरु गर्ने बताए ।

सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास तथा अर्थ मन्त्रालय , मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयहरूमा पनि मन्त्रालयका सचिव तथा कर्मचारीहरूले क्षतिको विवरण प्रस्तुत गरेका थिए ।

भौतिक पूर्वाधार र अर्थ मन्त्रालयमा कार्यालय सञ्चालन गर्नै नसकिने गरी क्षति भएको प्रदेश प्रमुखलाई ती मन्त्रालयका कर्मचारीहरूले जानकारी गराएका थिए । प्रदेश सभामा सभामुख भीम भण्डारीसँग समस्या समाधानका लागि भइरहेका प्रयासबारे संक्षिप्त छलफल भएको थियो ।

प्रदेश प्रमुख मियाँले आन्दोलनका क्रममा पनि आफ्नो कार्यालय जोगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नै राष्ट्र सेवक कर्मचारीहरूप्रति सम्मान व्यक्त गर्दै चाँडै सबै सेवा सुरु गर्नेगरि प्रबन्ध मिलाउनु पर्ने बताएका थिए ।

clock शुक्रबार १०, असोज २०८२ १०:५०

प्रतिक्रिया