स्वर्णिम शिक्षा सदन द्वारा जेन्जी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली अर्पण

  मङ्गलबार ३१, भदौ २०८२ २१:२३

धनगढी ।  धनगढी ३ चटकपुरमा रहेको स्वर्णिम शिक्षा सदनले दीप प्रज्वलन गर्दै जेन्जी आन्दोलनका क्रममा शहादत प्राप्त सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

आन्दोलनमा सहादत प्राप्त युवाहरूको बलिदानले देशको राजनीतिक, सामाजिक र नैतिक चेतनामा ऐतिहासिक परिवर्तन ल्याएको भन्दै बिद्यालयले श्रद्धाञ्जली अर्पण गरेको हो ।

विद्यालयले शहीदहरूको तस्बिरमा टीका, माला र मैनबत्ती अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुका साथै, आन्दोलनमा घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक खड्गबहादुर कुवरले ‘जेन जी’ आन्दोलनको ऐतिहासिक पृष्ठभूमि स्मरण गर्दै शहीदहरूको बलिदानलाई उच्च सम्मानका साथ सम्झिए । 

उनले भने, “हाम्रो ऐतिहासिक ‘जेन जी’ आन्दोलनका क्रममा वीरगति प्राप्त गर्नु भएका सम्पूर्ण शहीदप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौँ। साथै आन्दोलनमा घाइते हुनु भएका सबैप्रति शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दछौँ।”

कार्यक्रममा विद्यालयका प्रबन्धक निर्देशक टिकादत्त भट्टले सामाजिक रूपान्तरणका लागि सबै तह र तप्काबीच सहकार्य आवश्यक भएको औँल्याउँदै शून्य अवस्थाबाट अघि बढ्न सकिने विश्वास व्यक्त गरे।विद्यालयका शिक्षक, शिक्षिका, कर्मचारी, अभिभावक, विद्यार्थी तथा विभिन्न समितिका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा एक मिनेट मौनधारण गरेर शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो।

विद्यालय संचालक समितीका  चेतराज अवस्थी यस्पालका अनुसार, कार्यक्रम शान्ति, सद्भाव र सामाजिक ऐक्यबद्धताको सन्देश दिने उद्देश्यले आयोजना गरिएको हो। विद्यालयले आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै भोलि एक दिनको शोक विदा दिने निर्णय पनि गरेको छ। कार्यक्रम सन्चालन मुकेश बडुले गरेका थिए । ‘जेन जी’ आन्दोलनको क्रममा हालसम्म ७२ जनाले ज्यान गुमाएको बताइएको छ।

clock मङ्गलबार ३१, भदौ २०८२ २१:२३

प्रतिक्रिया