सुदूरपश्चिमका मुख्यमन्त्री शाह द्धारा ध्वस्त सरकारी संरचनाको निरीक्षण

  मङ्गलबार ३१, भदौ २०८२ १४:३९

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोलीले जेनजी आन्दोलनमा क्षतिग्रस्त बनेका सरकारी संरचनाको निरीक्षण गर्नु भएको छ । मुख्यमन्त्री शाहसहित मन्त्री र प्रदेश सरकारका कर्मचारीको टोलीले सयुक्त रुपमा क्षतिग्रस्त सरकारी संरचनाको निरीक्षण गर्नु भएहो हो ।

२४ भदौमा भएको जेनजी आन्दोलनमा आगजनी तथा तोडफोड गरिएका प्रदेश तथा संघीय सरकार अन्तरगतका कार्यालयको निरीक्षण गर्दै मुख्यमन्त्री शाहले क्षतिग्रस्त संरचनाको पुनः निर्माण एकताबद्ध भएर लाग्न आह्वान गर्नुभयो ।

आन्दोलनमा जलाइएका र तोडफोड गरिएका प्रदेश र संघीय सरकार मातहतका कार्यालय भवनको निरीक्षण गरिएको थियो । निरीक्षणपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिनुहुँदै मुख्यमन्त्री शाहले जेनजी आन्दोलनका क्रममा अकल्पनिय घटना घटेको र थुप्रै संरचनामा क्षति पुगेको बताउनु भयो ।

प्रदेश सरकारबाट विषय परिस्थितिमा पनि सेवा सुचारुका लागि संयन्त्र परिचालन यसअघि नै भइसकेको दाबी गर्नुहुँदै मुख्यमन्त्री शाहले कार्यालय सफा गर्ने काम भईरहेको बताउनु भयो । ‘सेवा सुचारुको अवस्था के छ भन्नेबारे जानकारी लिनका लागि निरीक्षणमा निस्केका हौं,’ उहाँले भन्नुभयो, ‘दुई–चार दिनभित्र नै सबै सेवा सुचारु गर्ने तयारीमा छौं ।’ 

शाहले संघ सरकार अन्तरगतका धेरैजसो कार्यालयले वैकल्पिक प्रबन्ध गरेर अत्यावश्यक सेवा सञ्चालन गरिसकेको बताउनुभयो । आन्दोलनका क्रममा ज्यान गुमाएकाहरू श्रद्धाञ्जली दिदै शाहले हिंसात्मक घटनाले आफूलाई विक्षिप्त बनाएको उल्लेख गर्नु भयो ।

२४ भदौमा भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा प्रदेशका कैलाली, कञ्चनपुर र डडेल्धुरामा बढी क्षति पुगेको थियो । कैलालीमा क्षतिको प्रारम्भिक विवरण संकलन भइसकेको छ । आन्दोलनका क्रममा कैलालीमा मात्रै एक सय ३७ वटा भवनमा क्षति पुगेको छ । छ सय ७८ वटा सवारीसाधन जलाइएको छ ।
 

clock मङ्गलबार ३१, भदौ २०८२ १४:३९

प्रतिक्रिया