कैलाली अस्पताल र फुटबल संघबीच उपचारमा छुट दिने सम्झौता
धनगढी । कैलाली अस्पताल प्रालि, धनगढी र कैलाली जिल्ला फुटबल संघबीच उपचार सेवामा छुट दिने सम्झौता भएको छ। सम्झौताअनुसार अबदेखि फुटबल खेलाडी र एन्फाका कर्मचारीहरूले अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा ५ देखि ३० प्रतिशतसम्म छुट पाउनेछन्।
२०८२ भदौ २२ गतेदेखि लागू हुने यो सम्झौताअनुसार फुटबल खेलाडीहरूले कन्सल्टेन्ट ओपीडीरइमर्जेन्सी ओपीडी निःशुल्क पाउनेछन्। त्यस्तै, जनरल बेडमा ३० प्रतिशत, क्याबिनमा २५ प्रतिशत, आईसीयूमा २० प्रतिशत, एनआईसीयूमा १५ प्रतिशत तथा पोस्ट अपरेटिभ कोठामा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।
यस्तै, शल्यक्रिया (सर्जरी), ओर्थोपेडिक, गायनाकोलोजी लगायतका उपचार सेवामा २० प्रतिशत छुट लागू हुनेछ। त्यस्तै युरोफ्लोमिटरमा २० प्रतिशत, प्याथोलोजी परीक्षणमा १५ प्रतिशत, भिडियो एक्स(रे, इको, ईसीजी, एन्डोस्कोपी लगायत सेवामा २० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ भने औषधिमा ५ प्रतिशत छुट दिइनेछ।
सम्झौतापत्रमा कैलाली अस्पताल प्रालिका तर्फबाट अध्यक्ष जनकराज जोशी र कैलाली जिल्ला फुटबल संघका तर्फबाट अध्यक्ष अनिल मल्लले हस्ताक्षर गरेका हुन्।
एन्फाका अध्यक्ष पंकज विक्रम नेम्बाङले कैलाली अस्पतालले फुटबल खेलाडीहरूलाई उपचारमा सहुलियत दिएकोमा खुसी व्यक्त गरे। उनले एन्फाको तर्फबाट अस्पताललाई धन्यवाद दिए। उनले सम्झौताले खेलाडी,प्रशिक्षक र रेफ्रीहरूलाई सहयोग पुग्ने बताए।
कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्लले कैलाली अस्पतालसँगको सहयात्रा औपचारिक रुपमा अहिले सुरू भए पनि हस्पिटलले फुटबलमा आवद्ध खेलाडीहरूलाई विगतदेखि नै सहयोग गर्दै आएको बताए।
प्रतिक्रिया