सुदूरपश्चिमका मन्त्रीसहित तीन जनाको मृत्यु भएको सवारी दुर्घटना छानबिन गर्न समिति

  बिहिबार ०७, असार २०८० १६:४१

धनगढी । बझाङमा मंगलबार प्रदेश मन्त्रीसहित तीन जनाको मृत्यु हुने गरी भएको सवारी दुर्घटना छानबिन गर्न समिति गठन भएको छ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहसहित तीन जनाको मृत्यु हुने गरी भएको सवारी दुर्घटना छानबिनका लागि समिति बनेको हो।

प्रदेश सरकारले १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गंगाबहादुर खरेलको अध्यक्षतामा सात सदस्यीय छानबिन समिति बनाएको हो।

समितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव नवराज ओझा, मुख्यन्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता टेकबहादुर थापा, यातायात व्यवस्था कार्यालयका मेकानिकल इन्जिनियर सदस्य छन्।

समितिको सदस्यसचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका अधिकृत विष्णुदत्त अवस्थी रहेका छन्।

मन्त्री नियुक्त भएको ३० औं दिनमा पहिलो पटक गृहजल्ला बझाङ जाने क्रममा सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना हुँदा सिंहको मृत्यु भएको थियो।

दुर्घटनामा मन्त्री सिंहसहित श्रीमती अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहले पनि ज्यान गुमाएका थिए। दुर्घटनामा मन्त्रीका पीएसओ र सवारी चालक भने घाइते छन्।

clock बिहिबार ०७, असार २०८० १६:४१

प्रतिक्रिया