धनगढी उपमहानगरपालिकाबाट ५१३ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा पढ्ने अवसर

  मङ्गलबार १७, भदौ २०८२ १७:४४

धनगढी । धनगढी उपमहानगरपालिकाको सिफारिसमा यस वर्ष कक्षा ११ र १२ मा ५१३ जना विद्यार्थी निजी विद्यालयहरूमा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाएका छन्। उपमहानगरले निजी विद्यालयहरूले कुल विद्यार्थी संख्याको १० प्रतिशतलाई छात्रवृत्ति दिनुपर्ने प्रावधान कार्यान्वयन गरेपछि गत वर्षदेखि छात्रवृत्तिका लागि परीक्षा लिन थालेको हो।

गत वर्ष निजी विद्यालयका लागि ५१३ जना छात्रवृत्तिको कोटा तोकिए पनि ४९४ जनाले मात्रै परीक्षा दिएका थिए। जसमध्ये २७६ जनालाई मात्र निजी विद्यालयहरूमा पूर्ण छात्रवृत्तिको लागि सिफारिस गरिएको थियो। विज्ञानतर्फ १६४ कोटामा ३७१ जनाले परीक्षा दिँदा १५९ जना छनोट भए। व्यवस्थापनतर्फ भने २८७ कोटामध्ये ९९ जनाले मात्रै परीक्षा दिँदा ८४ जना सिफारिस भए। यसरी व्यवस्थापनतर्फ १८८ कोटा खालि रह्यो। यस्तै होटल व्यवस्थापनका ३२ कोटामध्ये ११ जना, कानुनका १३ कोटामध्ये सात जना, शिक्षा विषयका सात कोटामध्ये पाँच जना सिफारिस भए भने मानविकी विषयतर्फ कुनै पनि आवेदन परेन।

शिक्षा अधिकृत भोजबहादुर बोहराका अनुसार, गत वर्ष कम आवेदन परेकाले २३७ कोटा खेर गएको हो। विज्ञानबाहेकका विषयमा विद्यार्थीको रुचि घट्नु, साथै केही विद्यार्थी छनोट परीक्षामा असफल हुनु यसको मुख्य कारण रहेको उनले बताए। यो शैक्षिक सत्रमा उपमहानगरले निजी विद्यालयबाट ३४९ छात्रवृत्तिको कोटा पाएको थियो। तर, यस वर्ष पनि २७६ जनालाई मात्रै पूर्ण छात्रवृत्तिको लागि सिफारिस गरिएको छ।

शिक्षा महाशाखाको तथ्यांकअनुसार, यसपटक ९७६ जनाले आवेदन दिए पनि ६८८ जनाले मात्रै परीक्षा दिए। जसमध्ये २७६ जना मात्र मेरिट सूचीमा परे। विज्ञानतर्फ भने आकर्षण अझै उच्च देखिएको छ। १४८ कोटाका लागि ७१२ जनाले आवेदन दिए, ५११ जनाले परीक्षा दिए भने १४३ जनाले पूर्ण छात्रवृत्तिको लागि सिफारिस पाए।

छात्रवृत्तिका लागि खुला र समावेशीतर्फ क्रमशः ५५ र ४५ प्रतिशत कोटा छुट्याइएको थियो। तर, समावेशीतर्फ महिला, आदिवासीरजनजाति, थारूररानाथारू, दलित, मधेसी र मुस्लिम लगायतका कोटामा आवेदन कम पर्नु जस्ता कारण सबै कोटा भर्न नसकिएको शिक्षा अधिकृत बोहराले बताए।

धनगढी उपमहानगरपालिकाको शिक्षा महाशाखाले यस वर्षको विज्ञान विषयमा १४३ जना, व्यवस्थापन विषयमा ११० जना, होटल व्यवस्थापनमा १५ जना, कानूनमा ११ जना, शिक्षामा तीन जना र मानविकीमा एक जनाले पूर्ण छात्रवृत्ति पाएको जनाएको छ। यी विद्यार्थीहरूले कक्षा ११ र १२ मा कुनै शुल्क बुझाउनु नपर्ने शिक्षा महाशाखाले जनाएको छ। यी सबैलाई उपमहानगरपालिकाले पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न सिफारिस गरेको हो।

छात्रवृत्ति सिफारिसका लागि गत वर्षदेखि नै खुला र समावेशी आधारमा कोटा निर्धारण गरिएको छ। यस अन्तर्गत, महिला ३३ प्रतिशत, दलित १४ प्रतिशत, थारूरराना थारू १३ प्रतिशत, आदिवासी जनजाति १० प्रतिशत, खस आर्य ११ प्रतिशत, पिछडिएको क्षेत्र १० प्रतिशत, मधेसी ३ प्रतिशत र मुस्लिम २ प्रतिशत राखिएको शिक्षा अधिकृत बोहराले बताए।

clock मङ्गलबार १७, भदौ २०८२ १७:४४

प्रतिक्रिया