लगानीकर्ताहरूको सुझावअनुसार लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार तयार छ : मुख्यमन्त्री शाह
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले लगानीकर्ताहरूको सुझावअनुसार लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार तयार रहेको बताउनु भएको छ ।
शनिबार काठमाडौंमा हिन्दु इकोनोमी फोरमका प्रतिनिधिहरूसँगको भएको अन्तरक्रिया कार्यक्रममा उहाँले स्वदेशी तथा विदेशी सबै लगानीकर्तालाई सुदूरपश्चिममा स्वागत गर्न आफूहरू आतुर रहेको बताउनु भएको हो । ‘सुदूरपश्चिममा लगानीकर्तालाई स्वागत गर्न हामी आतुर छौँ,’ मुख्यमन्त्री शाहले भन्नुभयो, ‘हामी लगानीमैत्री वातावरण बनाउँछौँ, तपाईंहरूको निर्धक्क भएर लगानी गर्नुहोस् ।’
मुख्यमन्त्री शाहले सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न पनि आग्रह गर्नुभयो । उहाँले सुदूरपश्चिममा समस्या मात्रै रहेको भनाइलाई खण्डन गर्दै त्यहाँ समस्याभन्दा कैयौँ गुणा बढी सम्भावना रहेको बताउनु भयो । मुख्यमन्त्री शाहले केही समयअघि भारत भ्रमणमा भारतीय मुख्यमन्त्रीहरूसँग सुदूरपश्चिममा लगानी ल्याउनेबारे छलफल भएको उल्लेख गर्नुहुँदै यसपटकको लगानी सम्मेलनमा भारततर्फबाट लगानी आउने अपेक्षा व्यक्त गर्नुभयोक । तीनै तहको सरकार सुदूरपश्चिममा लगानी भित्र्याउन सकारात्मक रहेको उहाँको भनाइ थियो ।
अन्र्तक्रिया कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहसहितको टोलीलाई हिन्दु इकोनोमी फोरमका प्रतिनिधिहरूले सुदूरपश्चिमको धार्मिक पर्यटनमा लगानी भित्र्याउन भूमिका खेल्ने बताएका थिए । उनिहरुले विश्व हिन्दु इकोनोमिक्समार्फत सुदूरपश्चिम प्रदेशका धार्मिक पर्यटन क्षेत्रमा लगानी ल्याउन पहल गर्नेमा जोड दिएका थिए ।
‘हामी विश्वभर रहेका हिन्दुहरू मार्फत नेपालमा लगानी ल्याउने विषयमा छलफल गरिरहेका छौँ,’ नेपाल संयोजक सुरज बैद्यले भन्नुभयो, ‘सुदूरपश्चिम प्रदेशमा पनि धेरै धार्मिक स्थल छन ्। त्यहाँ लगानी भित्र्याउने विषयमा पनि हामी छलफल गर्छौँ ।’
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेनु भएका बैद्यले सुदूरपश्चिम प्रदेशमा यसअघि पनि सम्भावनाबारे गरिएको अध्ययनका निष्कर्ष प्रस्तुत गर्नु भएको थियो । उहाँले नीतिगत कारण लगानी भित्र्याउन समस्या भएको भन्दै लगानीमैत्री नीति बनाउन मुख्यमन्त्री शाहलाई सुझाव दिनु भयो । लगानी सम्मेलनमा प्रतिबद्धता अनुसारको लगानी नआएको भन्दै उहाँले विशेष क्षेत्रलाई प्राथमिकतामा राखेर लगानीकर्ताहरूलाई आह्वान गर्नुपर्ने बताउनु भयो ।
पूर्व राजदूत समेत रहेनु भएका हिन्दु इकोनोमिक्स फोरमका महासचिव महेश दाहालले विश्वका हिन्दुहरूको चासो नेपालतर्फ रहेको भन्दै उनीहरू मार्फत लगानी ल्याउन सकिनेमा जोड दिनुभयो । सुदूरपश्चिममा हिन्दुहरूको ठूलो आस्था र केन्द्र रहेको भन्दै धार्मिक पर्यटन प्रवद्र्धनमा जोड दिन सकिने उहाँको भनाइ थियो ।
‘सुदूरपश्चिममा लगानी गर्न सहज छ भन्ने वातावरण बनाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘मुख्यमन्त्रीज्यू आफैं लगानीका लागि लागिरहनुभएको छ, हामी उहाँलाई साथ दिन तयार छौँ ।’
उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीले पनि सुदूरपश्चिममा पर्याप्त सम्भावना रहेको भन्दै नीति क्षेत्र त्यहाँ लगानी गर्न उत्साहित भएको बताउनुभयो । प्रधानमन्त्रीको भारत भ्रमणका बेला भारतीय प्रधानमन्त्रीसँग विभिन्न नाकाहरूलाई व्यावसायिक नाका बनाउनुपर्ने विषयमा कुरा गर्नुपर्ने सुझाव समेत उहाँले दिनुभयो ।
पूर्व गभर्नर चिरञ्जीवी नेपालले पनि सुदूरपश्चिमको विकास र लगानीका विषयमा आफूहरू गम्भीर रहेको भन्दै संसारभरिका हिन्दुहरूलाई सुदूरपश्चिमको सम्भावनामा लगानी गर्न आग्रह गर्ने बताउनु भयो । उहाँले उत्तर प्रदेश र उत्तराखण्डका लगानीकर्ताहरूसम्म मात्र पुग्दा पनि सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन सफल हुने दाबी गर्नुभयो।
‘भारत र चीनलाई ट्रान्जिट बनाउनुपर्छ, हामीले दुवै देशलाई लगानी गर्न आग्रह गर्नुपर्छ,’ पूर्व गभर्नर नेपालले भन्नुभयो, ‘अहिले उत्तर प्रदेश र उत्तराखण्डका लगानीकर्ताहरुलाई ल्याउन पहल गर्नुपर्छ ।’
छलफलमा सुदूरपश्चिम प्रदेशको सम्भावना र अवस्थाबारे नीति तथा प्रदेश योजना आयोगका सदस्य नृप सुनारले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा परियोजना विज्ञ दिलीप भट्टले मंसिर १ र २ गते हुने लगानी तथा विकास सम्मेलनको तयारी र प्राविधिक पक्षबारे जानकारी दिनु भएको थियो ।
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
                        
                        
प्रतिक्रिया