मन्त्री सिंहको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि धनगढी रंगशालामा राखिँदै

  बुधबार ०६, असार २०८० ०८:०६

धनगढी । मंगलबार सडक दुर्घटनामा परी निधन भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका बुधबार बिहान ९ बजे धनगढी रंगशालामा राखिने भएको छ । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी विज्ञप्तिमा प्रदेश सरकारले श्रद्धाञ्जलीका लागि सिंहको पार्थिव शरीरलाई धनगढी रंगशालामा राखिने जनाएको हो । धनगढीमा श्रद्धाञ्जली सभापछि अन्त्येष्टिका लागि गृह जिल्ला बझाङ लगिने पारिवारिक स्रोतले जनाएको छ ।

मन्त्री नियुक्त भएको ३०औं दिनमा पहिलो पटक गृह जल्ला बझाङ जाने क्रममा सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना भएको थियो । दुर्घटनालगत्तै उपचारका लागि कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज पुर्‍याइएका सिंहलाई अस्पतालले मृत घोषणा गरेको थियो । उनको शव मंगलबार राति धनगढी ल्याइएको हो । प्रदेश सरकारले बुधबार प्रदेशभर शोक बिदा दिने निर्णय यसअघि नै गरिसकेको छ ।

मन्त्री सिंहसँगै दुर्घटनामा परेका पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको बझाङको स्थानीय देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको थियो । उनीहरुको शव मंगलबार साँझ सदरमुकाम चैनपुर पुर्‍याएर जिल्ला अस्पतालमा राखिएको छ ।

मन्त्री सिंहसहित उनको परिवार चैनपुरस्थित घरको प्रतिष्ठा पूजा र ढडार मष्टाको पूजा गर्न धनगढीबाट हिँडेका थिए । दिवंगत सिंह दम्पतीका दुई छोराबुहारी र दुई नातिनातिना छन् ।

clock बुधबार ०६, असार २०८० ०८:०६

प्रतिक्रिया