सुदूरपश्चिमका पहाडी जिल्लामा फैलिँदै स्क्रब टाइफस

  मङ्गलबार १०, भदौ २०८२ १४:५१

बैतडी । सुदूरपश्चिमका पहाडी सात जिल्लामा स्क्रब टाइफसको प्रकोप बढ्दै गएको छ । मुसामा लाग्ने किर्नाजस्तो देखिने ‘माइट’ को टोकाइबाट मानिसमा यो रोगको संक्रमण हुने गर्छ । स्वास्थ्य निर्देशनालय राजपुर डोटीले सुदूरपश्चिमका पहाडी जिल्लामा स्क्रब टाइफसको दर प्रत्येक वर्ष बढिरहेको जनाएको छ । स्क्रब टाइफसका बिरामी तराईका कैलाली, कञ्चनपुरबाहेकका सात पहाडी जिल्लामा बढिरहेको स्वास्थ्य निर्देशनालय राजपुर डोटीका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले बताए । पहाडी जिल्लामा यो संक्रमण आर्थिक वर्ष ०८०/८१ भन्दा गत आव ९०८१/८२० मा १ हजार ४९८ जनाले वृद्धि भएको उनले बताए ।

बैतडी, दार्चुला, बझाङ, अछाम, डडेलधुरा, बाजुरा र डोटीमा आव ०८०/८१ मा २ हजार ५६३ जना र गत आवमा ४ हजार ६१ जनामा स्क्रब टाइपसको संक्रमण देखिएको निर्देशनालयको तथ्यांक छ । कैलाली, कञ्चनपुरमा भने स्क्रब टाइफसका बिरामीको संख्या घट्दो दरमा छ । यी दुई जिल्लामा आव ०८०/८१ को भन्दा गत आव ९०८१/८२० मा २९५ जना बिरामी घटेको छ । यी दुई जिल्लामा आव ०८०/८१ मा १ हजार १८३ जना र गत आवमा घटेर ८८८ जना मात्र रोग देखिएको तथ्यांक छ ।

पहाडी सबै जिल्लामा प्रत्येक वर्ष स्क्रब टाइफसका बिरामी बढ्दै गइरहेको तथ्यांक छ । दुई वर्षमा पहाडी जिल्ला डडेलधुरा र अछाममा सबैभन्दा बढी व्यक्तिमा यो संक्रमण देखिएको छ । आव ०८०/८१ मा डडेलधुरामा ६१५ जना र अछाममा ४४६ जना रहेकोमा यो संख्यामा गत आवमा वृद्धि भएर डडेलधुरामा १ हजार ३३९ जना र अछाममा १ हजार ८९ जनामा संक्रमण भेटिएको निर्देशनलायले दिएको तथ्यांकमा उल्लेख छ । यो संख्या अरू जिल्लाको तुलनामा धेरै हो ।

यस्तै आव ०८०/८१ मा दार्चुलामा २७७ जना, बझाङमा ३४३ जना, बैतडीमा २३१ जना, डोटीमा ६१२ जना र बाजुरामा ३९ जनामा संक्रमण देखिएको हो । गत आवमा दार्चुलमा २१५ जना र बैतडीमा १३६ जनामा संक्रमण देखिएको छ । यी दुई जिल्लामा गत आवमा केही मात्रमा घटेको देखिन्छ भने अरू जिल्लामा बढेको छ । बझाङमा ३६७ जना, बाजुरामा ५६ जना र डोटीमा ८५९ जनामा संक्रमण देखिएको थियो । यो तथ्यांकले तराईकोभन्दा पहाडी जिल्लामा स्क्रब टाइफस संक्रमणको दर बढेको प्रमाणित गर्दछ ।

यो रोगको समयमै उपचार गर्नसके मृत्यु हुने सम्भावना धेरै कम हुने स्वास्थ्यकर्मी बताउँछन् । सामान्यतः लक्षण टाइफाइडको जस्तो देखिए पनि स्क्रब टाइफसको समयमा उपचार हुन नसके यसले मानिसको ज्यान पनि लिन सक्ने जिल्ला अस्पताल बैतडीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुशील विकले बताए । ‘यसले मिर्गौला, मस्तिष्क, फोक्सो, कलेजोमा संक्रमण हुने हुँदा समयमै उपचार नगरे बिरामीलाई बचाउन पनि गाह्रो हुन्छ,’ डा। विकले भने ।

टोकेको ठाउँमा संक्रमण भएपछि शरीरका विभिन्न भागमा बिमिरा देखिने, ज्वरो आउने, शरीरका विभिन्न भाग दुख्नेलगायतका लक्षणहरू देखिने गरेको डा। विकले बताए । ज्वरोलाई सामान्य रुपमा नलिन उनले सर्वसाधारणलाई आग्रह गरेका छन् । उनले झाडी, खेतबारी, वनजंगलमा काम गर्दा शरीर पूरै ढाक्ने कपडा लगाउनुपर्ने, झाडी अथवा चौरमा बस्दा केही ओछ्याएर बस्नुपर्ने बताए । व्यक्तिगत सरसफाइसँगै घर वरपर सफा राख्नु तथा मुसा किर्ना नियन्त्रण गरे यस रोगबाट बच्न सकिने स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ ।

clock मङ्गलबार १०, भदौ २०८२ १४:५१

प्रतिक्रिया