सङ्कट व्यवस्थापन केन्द्रबाट एक वर्षमा २५२ जना लाभान्वित
बैतडी । जिल्ला अस्पताल बैतडीमा सञ्चालित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) प्रभावकारी बन्दै गएको छ । हिंसा प्रभावितलाई लक्षित गर्दै स्थापना भएको केन्द्रमार्फत एक वर्षको अवधिमा २५२ जना लाभान्वित भएका केन्द्रका संयोजक डा। सिजन खड्काले जानकारी दिए ।
संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष ९यूएनएफपीए० र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सिएमसी) नेपालको आर्थिक सहयोगमा सञ्चालित ओसिएमसीमार्फत विभिन्न प्रकारका सेवा प्रदान गर्ने गरिएको उनको भनाइ छ । जिल्लाका १० वटै पालिकाका २४४ र जिल्लाबाहिरका आठ जनाले केन्द्रबाट सेवा लिएका हुन् ।
लैङ्गिक हिंसा प्रभावितलाई ओसिएमसीबाट कानुनी, उपचारात्मक तथा परामर्श सेवा दिने गरिन्छ । ओसिएमसीमा आउनेमध्ये शारीरिक हिंसामा परेका ५३, मानसिक हिंसा प्रभावित ९७, स्रोतसाधनबाट वञ्चित ६५, बलात्कारका घटनाबाट पीडित १३, बलात्कार प्रयास घटनाबाट प्रभावित चार, बहुविवाहबाट पीडित चार, बालविवाहबाट पीडित चार र यौन दुव्र्यवहारका घटनाबाट पीडित दुई जना रहेको जनाइएको छ ।
हिंसापीडितको गोपनीयता कायम राख्दै प्रत्येक घटनामा प्रहरीले जिम्मेवार भएर ओसिएमसीलाई सहयोग गरिरहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए । दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशीले गुनासो सुन्ने सुविधा र सेवामा सहज पहुँच भएकाले नगरक्षेत्रका पीडितको सङ्ख्या बढी देखिएको बताए । दशरथचन्द नगरपालिकामा रहेको सेफ हाउस सञ्चालनमा ल्याई यस्ता सेवालाई प्रभावकारी बनाउनुपर्ने भन्दै उनले त्यसमा पालिकाले पनि सहजीकरण गर्ने बताए ।
दशरथचन्द नगरपालिकामा विगत १२ वर्षअघि बनेको सेफ हाउस हालसम्म सञ्चालनमा आउन सकेको छैन । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले ओसिएमसीले हिंसापीडितलाई पुनःस्थापनामा महत्त्वपूर्ण सहयोग गरेको बताए । (रासस)
प्रतिक्रिया