हिमाली जिल्ला दार्चुलामा भेटिए डेंगी संक्रमित

  बिहिबार ०५, भदौ २०८२ ०७:४८

दार्चुला । हिमाली जिल्ला दार्चुलामा डेंगीका बिरामी भेटिएका छन् । एक जनामा डेंगी संक्रमण पुष्टि भएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।

जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टका अनुसार उपचारका लागि आएका एक जनामा जाँच गर्दा डेंगी संक्रमण पुष्टि भएको हो ।

डेंगीको संक्रमण देखिनेमा बाँकेको कोहलपुरका ३९ वर्षीय पुरुष रहेका छन् । चालु आर्थिक वर्षमा दार्चुलामा डेंगी पुष्टि भएको यो पहिलो केस भएको सूचना अधिकारी भट्टले बताए ।

वर्षा हुने र घाम लाग्दा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेषगरी साउन, भदौ र असोजमा डेंगीको संक्रमण देखिने गर्दछ । डेंगी एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गरेको उनले बताए ।

डेंगी संक्रमण गर्ने लामखुट्टेले प्रायः बिहान र बेलुकाको समयमा टोक्ने भएकाले आफ्नो घर वरिपरि पानी जम्न नदिने, पूरै शरीर ढाक्ने कपडा लगाउने र सुत्दा झुल लगाएरमा मात्र सुत्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।

clock बिहिबार ०५, भदौ २०८२ ०७:४८

प्रतिक्रिया