सुदूरपश्चिमका पाँच प्रतिशत महिलाले शारीरिक तथा यौन हिंसाको सामना गर्दै

  बुधबार २८, साउन २०८२ ०९:२४

धनगढी । सुदूरपश्चिम प्रदेशका पाँच प्रतिशत महिलाले शारीरिक तथा यौन हिंसाको सामना गरिरहेको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाएको छ। यो तथ्यांक बुधवार धनगढीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो। 

याड नेपालले आयोजना गरेको युवाहरुको यौन तथा प्रजनन स्वास्थ्य र बृहत यौनिकता शिक्षाको निरन्तरताका लागि स्रोतको पहिचान तथा लगानी विषयक छलफल कार्यक्रममा स्वास्थ्य निर्देशनालय डोटीका तथ्याकं अधिकृत धर्मानन्द गिरिले प्रस्तुतिमा उक्त जानकारी दिएका हुन्।

उनका अनुसार बाहिर खुलेका महिलाहरुमध्ये ५ प्रतिशत देखिएपनि अँझै ६२ प्रतिशत महिलाले खुल्न सकेका छैनन् । यहाँ अँझै ३२ प्रतिशत भन्दा बढी बालविवाह कायमै रहेको उनले बताएका छन् । बढी जसो १८ बर्ष उमेृर समुहका किशोर किशोरीहरुले बिवाह गर्ने गरेका कारण उनिहरुको यौन तथा प्रजनन स्वास्थ्यमा असर परिरहेको छ । 

कार्यक्रममा सहभागी धनगढीका शेर बहादुर बस्नेतले प्रदेशमा बालविवाह, लैंगिक विभेद र घरेलु हिंसाका घटनाहरू अझै कायम रहेको उल्लेख गर्दै यसको अन्त्यका लागि सरकारी निकाय, गैरसरकारी संस्था र समुदायबीच समन्वय आवश्यक रहेको निष्कर्ष निकाले। 

याड नेपालका प्रतिनिधिहरूले विशेष गरी ग्रामीण क्षेत्रका युवाहरूमाझ यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी अभाव, खुला संवादको कमी र आवश्यक सेवासम्मको पहुँच नहुँदा हिंसा र भेदभावको चक्र दोहोरिनु प्रमुख समस्या भएको बताए। 

कार्यक्रममा सहभागी सरोकारवालाहरूले विद्यालयस्तरमै बृहत यौनिकता शिक्षा अनिवार्य गर्ने, महिला र किशोरीमैत्री स्वास्थ्य सेवा विस्तार गर्ने र हिंसापीडितको लागि सुरक्षित सहायता प्रणाली सुदृढ गर्ने सिफारिस गरेका छन्।

यौन तथा प्रजनन स्वास्थ्यको प्रभावकारिताका लागी कानुनको कार्यान्वयन र ज्ञान बढाउन आवश्यक रहेको धनगढीकी बर्षा सुनारले बताइन् । उनले यौन तथा प्रजनन अधिकारसँग सम्बन्धित कानुन र नीतिहरू प्रभावकारी रूपमा लागू हुनुपर्नेमा जोड दिइन् । युवाहरू, महिलाहरू, र समुदायमा यौन तथा प्रजनन स्वास्थ्यबारे सचेतना र जानकारी बढाउनुपर्ने समेत उनको भनाई छ ।

clock बुधबार २८, साउन २०८२ ०९:२४

प्रतिक्रिया