चैतन्यले अनुसन्धान सेवा सुरु गर्ने

  सोमबार ०४, असार २०८० १०:३०

काठमाडौं । चैतन्य ग्रुपले सुदूरपश्चिममा अनुसन्धानका क्षेत्रमा काम गर्ने भएको छ। उक्त अनुसन्धान केन्द्रको अध्यक्षका रूपमा प्रा. डा. हेमराज पन्त रहने गरी उनकै नेतृत्वमा चैतन्यले अनुसन्धानका क्षेत्रमा काम गर्ने भएको हो।

यस कार्यक्रमअन्तर्गत शिक्षा, स्वास्थ्य, सामाजिक, प्रशासनिक, आर्थिक, कला-संस्कृति, कृषि र पर्यटनलगायत विविध क्षेत्रमा अनुसन्धान  गरिने चैतन्यले जनाएको छ।

सुदूरपश्चिम केन्द्रित अनुसन्धानका क्षेत्रमा काम गरिने भएकाले यसले प्रदेशको सुशासन तथा समृद्धिमा सहयोग पुग्ने विश्वास लिएको छ। प्रदेश सरकार र स्थानीय सरकारको नीति निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ कार्यक्रम गरिने चैतन्यको भनाइ छ।

काठमाडौंको शंखमूलमा केन्द्रीय कार्यालय रहेको चैतन्यले विगत दश वर्षदेखि सार्वजनिक प्रशासनको नेतृत्वदायी भूमिकामा रहेका थुप्रै विज्ञहरूको सहभागीतामा अध्ययन तथा अनुसन्धानका क्षेत्रमा काम गर्नुका साथै सुशासन र समृद्धिका क्षेत्रमा समेत बहस सञ्चालन गर्दै आएको छ।

सुदूरपश्चिमको उक्त कार्यक्रमका लागि चैतन्यले एजुकेसन रिसर्च कोडिनेटरको मागसमेत गरेको छ। कुनै विषयमा मास्टर्स डिग्री गरेका व्यक्तिले विज्ञापन आह्वान गरेको १२ दिनभित्र सम्पर्क गर्न आग्रह गरिएको छ।

शिक्षा संयोजकका रूपमा पाँच वर्ष काम गरेको अनुभवी व्यक्तिलाई प्राथमिकता दिइने बताइएको छ। रिसर्च कोडिनेटरलाई एक लाख तलबसहित आवासीय र सवारी सुविधा दिइने ग्रुपले जारी गरेको सूचनामा उल्लेख छ।

दर्खास्त पेस गर्नका लागि चैतन्यको शंखमूलस्थित केन्द्रीय कार्यालय वा धनगढीको शिवनगरस्थित क्षेत्रीय कार्यालयमा सम्पर्क गर्न सकिने छ।

clock सोमबार ०४, असार २०८० १०:३०

प्रतिक्रिया