सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको संख्या दुई लाख ४० हजार पुग्यो
धनगढी । सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य बीमा गर्नेको संख्या दुई लाख ४० हजार ६९९ पुगेको छ । यहाँका नौ जिल्लामा गरी सो संख्यामा स्वास्थ्य बीमा भएको हो । स्वास्थ्य बीमा गराउनेमा सबै भन्दाबढी कैलाली र सबै भन्दाकम बाजुरामा रहेका छन् ।
स्वास्थ्य बीमा गराउनेमा सबै भन्दाबढी कैलाली र सबै भन्दाकम बाजुरामा
आर्थिक वर्ष २०८१–०८२ मा स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयको तथ्यांकअनुसार उक्त नागरिकले स्वास्थ्य बीमा गरेका हुन् । एक लाख ३ हजार ५९९ घरधुरीका मानिसहरु स्वास्थ्य बीमामा प्रत्यक्ष संलग्न रहेको स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयका सूचना अधिकारी गोविन्दराज ओझाले जानकारी दिए ।
स्वास्थ्य बीमा गराउनेमा अछाममा १५ हजार ४७२ जना, बैतडीमा १४ हजार ९२८, बझाङ १० हजार १६३, बाजुरामा आठ हजार ३५५ जना रहेको सूचना अधिकारी ओझाले बताए । त्यसैगरी स्वास्थ्य बीमा गराउनेमा डेल्धुरामा १६ हजार ४९१, दार्चुलामा ८ हजार ८७९, डोटीमा १२ हजार ५५४, कैलालीमा एक लाख ११ हजार १५९ र कञ्चनपुरमा ३६ हजार ६५९ जना रहेका छन् ।
आर्थिक वर्ष २०८०–८१ मा सुदूरपश्चिम प्रदेशको ९ वटै जिल्लाका एक लाख २६ हजार ५१ घरधुरीका २ लाख ५४ हजार १३४ जना मानिसहरुले स्वास्थ्य बीमा गरेको सूचना अधिकारी ओझाले बताए ।
स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०–८१ को भन्दा आर्थिक वर्ष २०८१–०८२ स्वास्थ्य बीमा गराउनेको संख्यामा बृद्धि हुनेछ । असार मसान्तसम्मको डाटा इन्ट्री गर्ने काम भइरहेकोले अघिल्लो आर्थिक वर्षको आर्थिक वर्ष २०८१–०८२ तुलनामा बढ्ने अनुमान रहेको छ ।
सूचना अधिकारी ओझाले भने, ‘ग्रामीण क्षेत्रका मानिसहरुमा जनचेतना नहुनु यसको प्रभावकारिता ’दयगतमा थाहा नपाउनुले पनि हुनसक्छ जति स्वास्थ्य बीमा हुनु पर्ने त्यती हुन सकेको छैन ।’ उनले ग्रामीण क्षेत्रको भन्दा सहरी क्षेत्रका मानिसहरुमा स्वास्थ्य बीमाप्रति आकर्षण बढेको बताए ।
सुदूरपश्चिमको कुल जनसंख्याको आधाले पनि स्वास्थ्य बिमा नगरेको सूचना अधिकारी ओझाको भनाइ छ । यहाँको जनसंख्या करिब २७ लाख रहेको भएपनि स्वास्थ्य बीमा गराउनेको संख्या भने न्युन रहेको सूचना अधिकारी ओझाको भनाइ छ ।
प्रतिक्रिया