कृष्णपुर नगरद्धारा घरदैलो अभियान मार्फत ३२ हजार बढी नागरिकको स्वास्थ्य परीक्षण
कृष्णपुर । कृष्णपुर नगरपालिकाले सञ्चालन गरेको ‘नागरिकसँग मेयर’ कार्यक्रमअन्तर्गत हालै सम्पन्न घरदैलो स्वास्थ्य परीक्षण अभियानमा ३२ हजार ५ सय ५५ बढी नगरवासीको स्वास्थ्य परीक्षण गरिएको छ।
नगरप्रमुख हेमराज ओझाको अग्रसरतामा ‘नागरिकसँग मेयर’ कार्यक्रमअन्तर्गत घरदैलो स्वास्थ्य परीक्षण अभियानमा ३२ हजारभन्दा बढी नगरवासीको स्वास्थ्य परीक्षण गरिएको पालिकाले जनाएको छ।
उक्त अभियानमा नगरका स्वास्थ्यकर्मीहरू, स्वयंसेवक, वडा प्रतिनिधिहरूको समन्वयमा नगरका सबै वडामा पुगेर नागरिकको स्वास्थ्य अवस्था परीक्षण गरीने गरिएको स्वास्थ्य शाखा प्रमुख रतन सिंह विष्ट बताए ।
अभियानमा उच्च रक्तचाप, मधुमेह, युरिनमा प्रोटिनको मात्रा, कुष्ठरोग, टीबी, तथा खोप छुट भएका बालबालिकाको पहिचान गरी तुरुन्तै उपचार प्रक्रिया सुरु उर्न अभियान सन्चालन गरिएको बिष्टले बताए ।
स्वास्थ्य शाखा प्रमुख विष्टका अनुसार नगरप्रमुख ओझाको निर्देशनमा कृष्णपुर स्वास्थ्य चौकीमा आइसियु सुविधा सहितको सर्पदंश उपचार सेवा केन्द्र सञ्चालनको तयारी भईरहेको छ । सर्पदंश जस्ता आकस्मिक स्वास्थ्य समस्यामा तत्काल उपचार होस् भनेर बजेट विनियोजनसहित पूर्वाधार निर्माणको काम अघि बढाइएको छ।
यस्तै, नगरमा निःशुल्क ९८ प्रकारका औषधि, निःशुल्क एम्बुलेन्स सेवा, विशेष स्वास्थ्य शिविरका साथै परीक्षणपछि देखिएका समस्या समाधानका लागि आवश्यक औषधि, परामर्श र रिफर सेवा पनि उपलब्ध गराईने गरीएको छ।
नगर उपप्रमुख द्रोपदी रानाले नगरपालिको अभियानले महिला, अपांगता भएका व्यक्ति, वृद्धवृद्धा र दीर्घरोगीहरूको स्वास्थ्य सुरक्षामा गम्भीर चासो देखाएको बताईन् ।
प्रतिक्रिया