अछामको बयालपाटा अस्पताल अब सुदूरपश्चिम सरकारको मातहत : भदौ १ देखि सञ्चालन

  सोमबार २३, असार २०८२ ०६:३८

धनगढी । सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा अवस्थित बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा सञ्चालन हुने भएको छ ।

स्वास्थ्य सेवा क्षेत्रमा महत्वपूर्ण मानिएको यो अस्पताल अब सुदूरपश्चिम प्रदेश सरकारको मातहतमा सञ्चालन गर्न न्याय हेल्थ नेपाल र प्रदेश सरकारबीच आइतबार ऐतिहासिक सम्झौता भएको हो ।

सुदूरपश्चिमका सामाजिक विकासमन्त्री मेघराज खड्काको समुपस्थितिमा भएको १७ बुँदे सम्झौतामार्फत अब यो अस्पताल पूर्ण रूपमा प्रदेश सरकारको स्वामित्व र व्यवस्थापनमा सञ्चालन गरिनेछ ।

अस्पताललाई ५० शैयाको प्रादेशिक अस्पतालको रूपमा सञ्चालन गर्ने औपचारिक सम्झौता भएको बताइएको छ । सम्झौतामा प्रदेश सरकारका तर्फबाट सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मी र न्याय हेल्थ नेपालका तर्फबाट अध्यक्ष कुन्द दीक्षितले हस्ताक्षर गरे ।

प्रदेश सरकारको योजना अनुसार, आगामी भदौ १ गतेदेखि बयालपाटा अस्पताललाई औपचारिक रूपमा प्रादेशिक अस्पतालको रूपमा सञ्चालन गरिनेछ। यस अस्पतालका लागि विशेषज्ञ चिकित्सक, नर्स, प्राविधिक र कर्मचारीसहित करिब १४२ जनशक्ति आवश्यक पर्ने अनुमान गरिएको छ।

बयालपाटा अस्पतालले अछामलगायत सुदूरपश्चिमका विकट पहाडी जिल्लाका लाखौं नागरिकलाई गुणस्तरीय, निःशुल्क र भरपर्दो स्वास्थ्य सेवा दिँदै आएको छ । तर पछिल्लो समय आर्थिक अभावले अस्पताल बन्द हुने अवस्थामा पुगेको थियो ।

clock सोमबार २३, असार २०८२ ०६:३८

प्रतिक्रिया