सुदूरपश्चिमका पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार गर्दै कैलालीका युवक सुदूरपूर्वी झापामा

  बिहिबार ०४, साउन २०८० ०९:३१

धनगढी । सुदूरपश्चिमका पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार गर्दै एक युवक सुदूरपूर्वी जिल्ला झापा पुगेका छन् । देशभर पैदल यात्रामा निस्केका कैलाली गौरीगङ्गा नगरपालिका–४, खुरखुरियाका देवराज उपाध्याय पैदल यात्रा गरेर बुधबार झापा पुगेका हुन्। पैदल हिँडेरै नेपाल घुम्ने लक्ष्यका साथ यात्रा सुरु गर्नुभएको १२६ दिनमा ३८ वर्षीय उपाध्याय झापा पुगे ।

आफ्नो देश कस्तो छ भन्ने थाहा पाउन पैदल हिँडेको बताउँदै उपाध्यायले यात्रासँगै सुदूरपश्चिमको पर्यटकीय क्षेत्रको पनि प्रचारप्रसार गर्दै आएका छन् ।

सुदूरपश्चिमको खप्तड र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, गोदावरी र बडीमालिका धाम, अपि र सैपाल जस्ता हिमालको प्रचारप्रसार गर्दै यात्रामा निस्किएको उनले बताए ।

गत वर्ष मात्रै काँधमा हलोजुवा बोकेर २८ दिनमा मेची महाकाली पैदल यात्रा गर्नुभएका उपाध्यायको त्यस यात्राको उद्देश्य नेताहरू सच्चिए मात्रै देश विकास सम्भव छ भन्ने रहेको उनले बताए ।

यस पटक देशको बारेमा जानकारी लिन यात्रामा निस्किएको बताउँदै उनले झापामा आइपुग्दा आफ्नो  ५२ औँ जिल्ला प्रवेश भएको जानकारी दिए ।  

clock बिहिबार ०४, साउन २०८० ०९:३१

प्रतिक्रिया