नेपालले वेस्ट इन्डिज ‘ए’लाई हरायो, रोहितको शतक

  शनिबार १५, बैशाख २०८१ १६:०७

काठमाडौं। टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको हो।

२०५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि कप्तान रोहित कुमार पौडेलले शतकीय पारी खेले। रोहितले ५४ बलमा ११२ रनमा आउट भए। उनले ४७ बलमा १० चौका र ५ छक्का प्रहार गर्दै शतक पूरा गरे।

दीपेन्द्र सिंह ऐरीले २४, कुशल भूर्तेल र कुशल मल्लले १६–१६, विवेक यादवले ७ र अनिल साहले ५ रन बनाए। साथै, गुल्शन झाले ९ र प्रतिश जीसीले ५ रन जोडे ।

वेस्ट इन्डिजका म्याथ्यु फोर्ड र ओबेद म्याककोइडले २र२ विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज ‘ए’ ले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा २०४ रन बनाएको थियो ।

वेस्ट इन्डिज ‘ए’ का लागि कप्तान रोस्टन चेसले र एलिक एथेनाजेले ४७ रन बनाए। नेपालका लागि कमल सिंह ऐरी, अविनाश बोहरा, र रोहित कुमार पौडेलले १–१ विकेट लिए।

clock शनिबार १५, बैशाख २०८१ १६:०७

प्रतिक्रिया