खप्तडको महिमा बढाउने आध्यात्मिक सम्मेलन

  सोमबार २२, जेठ २०८० १०:२९

बाजुरा । सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र खप्तडमा आयोजना हुने आध्यात्मिक सम्मेलनको तयारी तीव्र पारिएको छ । जेठ २३ देखि २५ गतेसम्म आयोजना हुने सम्मेलनको व्यवस्थापनदेखि अन्य तयारीका कामहरूलाई तीव्र पारिएको आयोजक समिति सदस्य एवं खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी प्रमुख भीमबहादुर खड्काले जानकारी गराउनुभयो । भूस्वर्गका नामले परिचित खप्तडलाई सुदूरमा लुकेको स्वर्गका रूपमा पनि परिभाषित गर्ने गरिएको छ । खप्तड क्षेत्रको महिमा र सम्भावनाको उजागर गर्न अन्तर्राष्ट्रिय स्तरको सम्मेलन आयोजना गर्न लागिएको हो । खप्तडलाई तत्कालिन श्री ५ को सरकारले २०४३ सालमा राष्ट्रिय निकुञ्जका रूपमा घोषणा गरेको थियो ।

सम्मेलनको मञ्च व्यवस्थापन, टेण्ट ढुवानी, शौचालय तथा खानेपानीको व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको छ भने अन्य खाद्यान्न ढुवानीदेखि कार्यक्रम आयोजना स्टल निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वयम सेवक र खप्तडसँग जोडिएका सबै स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी खटिएका छन् ।

बाजुराको खप्तड छेडेदह गाउँपालिकाले शौचालय निर्माण र खानेपानी निर्माणको जिम्मेवारी लिएको छ । पालिकाबाट अध्यक्ष दिलबहादुर रावत सहीतको टोली नै आयोजनाको व्यवस्थापनमा खटिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णराज जैशीले बताउनुभयो । सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

यस्तै, भारतीय योगगुरु बाबा रामदेव, पतञ्जली योगपीठका महामन्त्री बालकृष्ण आचार्य, संघीय र प्रदेश सरकारका मन्त्रीहरू, आध्यात्मिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वलगायत सम्मेलनमा सहभागी हुनेछन् । आध्यात्मिक सम्मेलनका लागि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहको संयोजकत्वमा ४०१ सदस्यीय मूल तयारी समितिसमेत गठन गरी काम कारबाही अघि बढाइएको छ । समितिअन्तर्गत कामका सहज पार्नका लागि १२ उपसमिति गठन गरिएका छन् ।

खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहको संयोजकत्वमा तयारी तथा व्यवस्थापन समिति गठन गरिएको छ । धार्मिक, आध्यात्मिक र सांस्कृतिक संरक्षण गर्न सम्मेलनको आयोजना हुन लागेको हो ।

सम्मेलनमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा खप्तडको प्राकृतिक सौन्दर्यता, आध्यात्मिक, योग, ध्यान र साधनाको महत्वलाई चिनाउन सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ । बाजुराबाटै सुदूर साहित्य प्रतिष्ठानका कलाकारलाई स्वागतका लागि नृत्य सहीतका सांस्कृतिक झाँकी प्रदर्शनको जिम्मेवारी लिएर तयारी थालिएको धिरेन विकले बताउनुभएको छ ।

सुदूरपश्चिम प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समिति, तथा स्थानीय तहको आयोजनामा हुन लागेको सम्मेलन सम्पन्न गर्न करिब तीन करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । उसो त ‘मानसखण्ड’ पुस्तकमा समेत खप्तडलाई पृथ्वीको सुन्दर ठाउँका रूपमा वर्णन गरिएको छ । ६५ वर्षको उमेरमा खप्तड पुग्नुभएका खप्तडबाबाले साधना गरेर सोही क्षेत्रमा ५० वर्ष बताएको इतिहास छ । खप्तड आफैँमा अलौकिक देव भूमिको रूपमा परिचित छ ।

सुदूरको सम्भावनाको पहिचान गर्न, धार्मिक पर्यटनलाई सुदूरको अर्थतन्त्रसँग जोड्न र पर्यटकीय गन्तव्यको प्रमुख केन्द्र बनाएर बडीमालिका, रारा, बूढीनन्दा, मानसरोवरलाई समेत जोडेर लैजाने तयारीका लागि पनि सम्मेलन गर्न लागिएको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी प्रमुख भीमबहादुर खड्काले बताउनुभयो ।

पाँच सयभन्दा बढीको सहभागिता हुने विश्वास गरिएको सम्मेलनमा विभिन्न १६ देशका राजदूत सहितका प्रतिनिधीलाई आमन्त्रण गरिएको छ । सम्मेलनमा सहभागी हुन काठमाडौंबाट हवाई मार्गबाट धनगढी र सडक मार्गबाट डोटीको दिपायल, अछामको चौरपाटी, बझाङको लमैल र बाजुराको लसकेसम्मको यात्रा गर्नुपर्ने हुन्छ । त्यसैगरी दिपायलबाट खप्तडसम्म हेलिकोप्टरको समेत व्यवस्था निजी कम्पनीले गर्ने बुझिएको छ । प्रधानमन्त्रीसहित बाबा रामदेवको टोली २३ गते मात्रै धनगढीबाट हेलिकप्टरमार्फत खप्तड पुग्ने र सोही दिन फिर्ता हुने बुझिएको छ ।

clock सोमबार २२, जेठ २०८० १०:२९

प्रतिक्रिया