अछामको कुईकाल्ले देवीको मूर्ति गायब

  मङ्गलबार २३, साउन २०८० १५:१५

अछाम । अछामको धार्मिक आस्थाको केन्द्र मानिने कुईकाल्ले देवीको मूर्ति गायब भएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–८ बारलामा रहेको मन्दिरबाट मूर्ति गायब भएको वडा अध्यक्ष छत्रबहादुर शाहीले जानकारी दिए ।

जिल्लाकै प्रमुख धार्मिक आस्थाको रूपमा हेरिने कुईकाल्ले भगवतीको मन्दिरमा गत वर्षको जनैपूर्णीमाको दिन पूजापाठ गरेर फर्किँदासम्म मन्दिरमै रहेको मूर्ति एक वर्षको अवधिमा गायब भएको हो । मन्दिरका मूल पुजारी कमल आचार्यका अनुसार गत वर्षको जनैपूर्णीमाको दिनसम्म मन्दिरमा भएको मूर्ति अहिले नभेटिएको हो ।

दुई वटा मूर्ति रहेको उक्त मन्दिरमा हाल एउटा मात्र मूर्ति छ । मूर्ति चोरी भएको हुनसक्ने स्थानीयको आशङ्का छ । ढुङ्गाको कलात्मक रूपमा बनाइएको ऐतिहासिक मूर्ति हराएको हो ।

मूर्तिको खोजिकार्य सुरु भएको पूर्व वडाध्यक्ष ताराप्रसाद खनालले बताए । मूर्ति हराएको विषयमा प्रहरीलाई कुनैपनि जानकारी नआएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए । 

उक्त मूर्ति आजभन्दा १३० वर्ष पहिले पनि हराएको थियो । स्थानीय सर्जनबहादुर शाहीले वि।स। १९५० सालमा हराएको मूर्ति ६ वर्षपछि १९५६ सालमा मन्दिर नजिकैको पानीको तलाउमा भेटिएको बताए ।

कुईकाल्ले देवीलाई यस क्षेत्रमा ठुलो विश्वास गर्ने गरिन्छ । बाजुराको बडी मालिकाकै अंशको रूपमा उक्त मन्दिर चिनिँदै आएको छ ।

clock मङ्गलबार २३, साउन २०८० १५:१५

प्रतिक्रिया