कैलारीको सरस्वती माविका विद्यार्थी र अभिभावक आन्दोलित, विद्यालयमा तालाबन्दी

  मङ्गलबार २७, जेठ २०८२ ०७:१०

धनगढी । कैलालीको कैलारी गाउँपालिका–६ खरुवाखेरास्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी र अभिभावक आन्दोलित भएका छन्। आफू खुशी शिक्षक सरुवा गरेर विद्यालय प्रशासनले विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको भन्दै उहाँहरु आन्दोलित भएका हुन् ।

आन्दोलित विद्यार्थी र अभिभावकले विद्यालयमा तालाबन्दी गरेका छन् । धेरै समयदेखि कार्यरत शिक्षकको बिना जानकारी सरुवा हुँदा विद्यालयमा महिना दिनसम्म पढाइ ठप्प हुने गरेको विद्यार्थीको गुनासो छ । उनिहरुले विद्यालयमा कार्यरत शिक्षकहरुको सरुवा नगर्न माग गर्दै आफू अध्ययनरत विद्यालयमा ताला लगाएका छन् ।

विद्यालयमा विद्यार्थीको भविष्यसँग खेलवाड भइरहेकाले उहाँहरुसहित अभिभावक पनि आन्दोलित बनेको विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष मुनराम चौधरीले बताए । उनले दुई शिक्षक सरुवा भइसकेको र फेरि तीन जनासम्म शिक्षक सरुवा हुने कुरा सुनिएको उल्लेख गरे ।

विद्यालयमा प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले राजनीति गरिरहेको भन्दै दुवै जनाले राजीनामा दिनु पर्ने अभिभावकको माग छ । विद्यालयका प्राध्यानाध्यापक खडक नायकले विद्यालयमा कुनै पनि राजनीति नभएको जिकिर गर्दै ताला लगाएर विद्यार्थीले आफ्नो भविष्यमाथि आफै खेलवाड गरिरहेको बताए ।

“शिक्षक सरुवा गर्ने अधिकार हामीलाई छैन । गाउँपालिकाको शिक्षा समितिले सरुवा गर्ने हो”, उनले भने, “मैले न सरुवा गर्न सक्छु न त सरुवा रोक्न सक्छु ।” कैलारी गाउँपालिका–६ का वडा अध्यक्ष प्रेम चौधरीले विद्यालयमा उत्पन्न समस्या समाधानको प्रयास भइरहेको बताए ।

clock मङ्गलबार २७, जेठ २०८२ ०७:१०

प्रतिक्रिया