डीडीसी सङ्घर्ष समिति गोदावरी नगरपालिकाको भूमिकाप्रति सशङ्कित, बुझायो ज्ञापन पत्र
अत्तरिया । कैलालीको अत्तरियामा रहेको दुग्ध वितरण आयोजना (डीडीसी) रोक्न नगरपालिकाले खेलेको भूमिका प्रति डीडीसी सङ्घर्ष समिति सशङ्कित बनेको छ । सङ्घर्ष समिति डीडीसी कार्यालयमा ताला लगाएको १२ दिन बितिसक्दा पनि जग्गा प्राप्ति सम्बन्धी कुनै प्रक्रिया अगाडि नबढेको भन्दै नगरपालिकाको भूमिकाप्रति सशङ्कित बनेको हो ।
सङ्घर्ष समितिले मंगलबार नगरपालिकाका प्रवक्ता एवम् डीडीसीको जग्गा खोज्न बनेको कार्यदलका संयोजक गोपाल दत्त भट्टलाई ज्ञापन पत्र बुझाउँदै नगरपालिकाले कुनै एक जग्गाको ठोस टुङ्गो लगाएर प्रक्रिया अगाडि बढाउनु पर्ने माग गरेको छ ।
नगरपालिकालाई बोधार्थ गरिएको ज्ञापन पत्रमा भनिएको छ ‘गोदावरी नगरपालिकाले सम्बन्धित निकायमा पत्राचार गरेका जग्गा मध्ये कुनै एक जग्गाको ठोस टुङ्गो लगाएर आवश्यक प्रक्रिया सहित फाइल अगाडि बढाई जग्गा प्राप्ति सम्बन्धी प्रक्रिया सुरु गरिदिन अनुरोध छ ।’
सङ्घर्ष समितिका संयोजक लोक राज पाण्डे ९आगो० ले डीडीसीका हाकिमले एक वर्ष अघि नै अत्तरियामा जग्गा उपलब्ध गराइदिन आग्रह गर्दा पनि नगरपालिकाले सुनुवाइ नगर्दा अहिलेको अवस्था आएको बताए । उनले अहिले पनि सङ्घर्ष समितिले दबाब दिँदा पनि सम्बन्धित निकायले नसुनेको बताए ।
‘एक वर्ष अघि देखि अत्तरियामा डीडीसीका लागि जग्गा आवश्यक छ भनेर हाकिमले चहार्दा पनि सम्बन्धित निकायको मौनताका कारण आज यो धनगढी जाँदै छ’ उनले भने ‘अहिले पनि सङ्घर्ष समितिले यसको बारेमा आवाज उठाउँदा पनि स्थानीय तह लगायत सङ्घर्ष समितिले नसुनेको अवस्था छ ।’ उनले जग्गा उपलब्ध गराउनको लागि नगरपालिकाले फाइल खडा गरेर जानुपर्नेमा ३ ठाउँका जग्गा देखाएर मात्रै नहुने बताए । उनले डीडीसीलाई जग्गा उपलब्ध गराउन प्रक्रिया अगाडि बढाउनुको सट्टा आश्वासन दिएर ताली बजाउने काम मात्रै भएको बताए ।
डीडीसी सङ्घर्ष समितिका सह–संयोजक धर्म सिंह कुँवरले बोलेर मात्रै नहुने भएकाले प्रक्रियामा जानुपर्ने बताए । उनले भने ‘सङ्घर्ष समिति आन्दोलन नै गरिराख्ने, नगरपालिका पत्रै पठाउने काम मात्रै गरेर यो समस्याको समाधान हुँदैन ।’
डीडीसी धनगढी सार्ने सम्झौता भएको कुरा बाहिरिएपछि स्थानीयले सङ्घर्ष समिति मार्फत जेठ ८ गते डीडीसीको कार्यालयमा ताला लगाएका थिए । तालाबन्दी पछि गोदावरी नगरपालिकाले जेठ ९ गते डीडीसीलाई गोदावरी नगरपालिका – ४ का दुई ठाउँ र गोदावरी नगरपालिका १ को धनगढी रोडमा जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै पत्र पठाएको थियो ।
तर, पत्र कार्यालयमा पठाए पनि अहिले सम्म डीडीसीबाट कुनै पनि व्यक्ति नगरपालिकाको सम्पर्कमा नआएको नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले बताए । उनले तीन जग्गा मध्ये एक जग्गा डीडीसीले छनोट गरिदिएमा आफूहरूले त्यसको भोगाधिकारका लागि प्रक्रिया अगाडि बढाउने योजना रहेको बताए ।
प्रतिक्रिया