पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध एक करोड बिगोसहित भ्रष्टाचार मुद्दा दायर
धनगढी । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध एक करोड बिगोसहित भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार सोडारीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो।
उनी विरुध एक करोड ८ लाख ३८ हजार तीन सय २ रुपैयाँ बिगोसहित मुद्दा दायर गरेको अख्तियारले जनाएको छ। सोडारी कैलाली ४९१० बाट एकीकृत समाजवादीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार हाल प्रदेश सभा सदस्य समेत रहनुभएका सोडारीले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैर कानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप लागेको छ ।
आयोगका अनुसार सोडारीले सार्वजनिक पदधारण गरेको मिति २०७४ माघ ७ गतेदेखि २०७९ फागुन १० गतेसम्मको जाँच अवधिमा निजसमेतको खुद बैङ्क मौज्दात, पारिश्रमिक बचत, दैनिक भ्रमण भत्ता, गैरसरकारी संस्थाबाट प्राप्त भत्ता आय, श्रीमतीको पारिश्रमिक बचत लगायत जम्मा आय ८५ लाख ५१ हजार ३३४ रुपियाँ रहेको छ ।
यसैगरी, सो अवधिमा व्ययतर्फ जग्गा खरिदमा भएको खर्च, छोरीको अध्ययन खर्च, निजको श्रीमती सञ्चालक रहेको बबि मसला उद्योगमा भएको लगानी, बिमा प्रिमियम भुक्तानी, प्रदेश सभा निर्वाचनमा भएको खर्च, छोराको विवाहमा भएको खर्च, शेयर लगानी तथा विभिन्न बैङ्क तथा वित्तीय संस्थामा रहेको नगद मौज्दातसमेत गरी जम्मा एक करोड ९३ लाख ८९ हजार ६३७ रुपियाँ देखिएको आयोगको विज्ञप्तमा उल्लेख छ ।
सोडारी २०७४ मा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। उनी २०७४ माघदेखि २०७५ कात्तिकसम्म प्रदेशको सामाजिक विकास मन्त्रीको जिम्मेवारीमा समेत थिए। त्यस्तै उनी २०७८ जेठ १४ गतेदेखि २०७९ मंसिरसम्म प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए।

 
                     
                                 
                         
                                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                         
                        
प्रतिक्रिया