कैलाली कञ्चनपुरमा किसानलाई पावरटिलर दिने भन्दै रकम उठाउने सुशिला पक्राउ
धनगढी । लामो समय देखी कैलाली र कञ्चनपुरका किसानहरूलाई पावरटिलर मेसिन दिने भन्दै रकम असुलेर ठगी गरेको आरोपमा सुरो नेपालकी अध्यक्ष सुशिला खड्का ओझा पक्राउ परेकी छन् ।
खड्का सँगै पावरटिलर बाँड्ने भन्दै किसानबाट रकम असुलीमा संलग्न रहेकी धनगढीको बंग्रा घर भएकी सुनिता चौधरीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराले उनीहरुलाई शनिवार काठमाडौँबाट पक्राउ गरी कञ्चनपुर ल्याएको जानकारी दिए ।
कञ्चनपुरको कृष्णपुर नगरपालिकाका स्थानीय किसानको ठगी सम्बन्धी उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक बोहराले बताए ।
सुशिला खड्काले विभिन्न व्यक्ति, समूह, सहकारीलाई परिचालन गरी प्रति किसानबाट ५० हजारदेखि एक लाख ३० हजार रुपैयाँसम्म रकम संकलन गर्दै आएकी छिन् ।
उनको समूहले हालसम्म हजारौँ किसानबाट रकम संकलन गरे पनि हालसम्म पावरटिलर नदिएको हो । खड्काको समूहले घोडाघोडी नगरपालिकामा समेत थुप्रै किसानहरू बाट रकम संकलन गरी पावरटिलर नदिएको पाइएको छ ।
प्रतिक्रिया