अखिलमा ३२ वर्ष उमेरहद लागू गराउन पार्टीको सर्कुलर, निर्णय सच्याउन महासचिव रोकायाको माग
धनगढी । नेकपा एमालेले अनेरास्ववियुमा ३२ वर्ष उमेरहद लागू गराउन सर्कुलर गरेको छ । एमाले महासचिव शङ्कर पोखरेलले बुधवार सङ्गठनका केन्द्रीय अध्यक्ष र इन्चार्जहरूलाई सर्कुलर पठाउँदै अनेरास्ववियुमा ३२ वर्षको उमेरहद कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।
उक्त सर्कुलरमा जेठ ११ गते अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको ५२औँ बैठकले अनेरास्ववियुको चौविसौँ महाधिवेशनमा उमेरहद सम्बन्धी मापदण्ड सुनिश्चित गर्न निर्देशन दिएको उल्लेख छ।
‘अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा २०८२ जेठ ११ गते बसेको नेकपा एमाले केन्द्रीय सचिवालयको ५२ औँ बैठकले अनेरास्वीयुको यसै महिना सम्पन्न हुन गइरहेको चौविसौ महाधिवेशनले उमेदहद कायम गर्नेगरि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिने निर्णय भएको छ’ महासचिव पोखरेलले जारी गरेको सर्कुलरमा उल्लेख गरिएको छ ।
उक्त सर्कुलरमा सचिवालयको बैठकको निर्णय पनि उल्लेख गरिएको छ । ३२ वर्षको उमेरहदबारे अनेरास्ववियुका महासचिव नरेश रोकायाले असहमति जनाएका छन् । रोकायाले सर्कुलरलाई लोकतान्त्रिक प्रक्रिया र पार्टीको मूल सिद्धान्त विपरीत भएको दाबी गर्दै उक्त निर्णय तत्काल सच्याउन माग गरेका छन्।
‘केन्द्रीय सचिवालयको बैठकमा समसामयिक राजनीतिक परिस्थिति बाहेक अन्य कुनै एजेन्डा थिएन। यस्तो अवस्थामा एजेन्डामै नभएको विषयमा गरिएको निर्णय पार्टीको आन्तरिक लोकतन्त्र र जनवादी केन्द्रीयताको सिद्धान्त विपरीत छ’ रोकायाले सामाजिक सञ्जालमा लेखेका छन् ।
रोकायाले महाधिवेशन नजिकिँदै गर्दा खेल सुरु भइसकेपछि नियम परिवर्तन गर्नु अनुचित भएको भन्दै आलोचना गरेका छन्। उनले लेखेका छन्, ‘खेल सुरु भइसकेपछि खेलको नियम परिवर्तन हुँदैन। यदि गरियो भने त्यो म्याच फिक्सिङ मानिन्छ। ’
महासचिव रोकायाले अनेरास्ववियुको आफ्नै विधान र साङ्गठनिक संरचना रहेको भन्दै यस्ता परिवर्तनहरू महाधिवेशन वा विधान अधिवेशनमार्फत मात्र गर्न सकिने धारणा राखेका छन्। साथै, उनले राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा प्रतिनिधिहरूले आवश्यक निर्णय लिन सक्ने उल्लेख गरेका छन्। रोकायाले पार्टी नेतृत्वले यस विषयमा पुनर्विचार गर्ने विश्वास व्यक्त गर्दै शुभचिन्तकहरूलाई धैर्य रहन आग्रह समेत गरेका छन्।
यसअघि नेपाल विद्यार्थी सङ्घले र अनेरास्ववियु क्रान्तिकारी ले ३२ वर्ष उमेर हद तोकेको थियो । एमालेले राष्ट्रिय युवा सङ्घमा ४० वर्षे उमेर हद तोकेको थियो । अनेरास्ववियुको महाधिवेशन यही जेठ २५ देखि २७ गते काठमाडौँमा तोकिएको छ ।
 
                     
                                 
                         
                                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                         
                        
प्रतिक्रिया