महाकालीले भत्काएको बाँध निर्माण गर्न सुरु

  शुक्रबार १६, जेठ २०८२ ०७:१५

महेन्द्रनगर । महाकालीले भत्काएको गाइडबन्ड (बाँध) निर्माण गर्न सुरु गरिएको छ । गत वर्ष बाढीले क्षति गरेको महाकाली चार लेन पुलसँगै बनेको गाइडबन्ड (बाँध) निर्माणको काम नेपाली सेनाले सुरु गरेको हो । गत वर्ष भदौमा आएको बाढीले दुई सय मिटर गाइडबन्ड भत्काएपछि पुनः निर्माण हुन सकेको थिएन । 

बाढीले बाँध भत्काएर महाकाली नदी बस्तीतर्फ सोझिएपछि महाकाली पुल, पुलको पहुँच मार्ग र आसपासका बस्तीसमेत जोखिममा परेपछि जिल्ला विपत् व्यवस्थापन समितिले विपत् संकटग्रस्त क्षेत्र घोषणाका लागि गृहमन्त्रालयलाई सिफारिस गरेको थियो ।

सोही सिफारिस अनुसार जेठ ६ गतेको मन्त्रिपरिषद्को निर्णयले महाकाली नदी किनारको गाइडबन्ड भत्केको क्षेत्रलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरी नेपाली सेनामार्फत काम गराउने निर्णय गरेको थियो । सोहीअनुसार नेपाली सेनाले गाइड बन्डसँगै महाकाली नदीलाई च्यानलाइजेसनको काम सुरु गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

निर्देशनालयका अनुसार पुल आयोजनाको स्वीकृत डिजाइन अनुसार महाकाली नदीमा भत्किएको दुई सय ६५ मिटर गाइडबन्ड र २६ सय मिटर महाकाली नदीलाई बीच भागमा बगाउने गरी च्यानलाइजेसनको काम सेनाले गर्ने छ । 

अहिले महाकाली नदीमा पहिलो चरणमा दुई सय जनाको जनशक्ति खटिएको छ । दोस्रो चरणमा थप जनशक्ति खटाउने तयारी रहेको निर्देशनालयले जनाएको छ । सेनाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समन्वय गरी महाकाली पुल आसपास रहेका नदीजन्य पदार्थ व्यवस्थापन गर्ने जनाएको छ ।

clock शुक्रबार १६, जेठ २०८२ ०७:१५

प्रतिक्रिया