चैतन्य तेस्रो सुदूरपश्चिम प्रदेशस्तरीय तेक्वान्दो सुरु
धनगढी । शिक्षा र संस्कारको संगमका रूपमा परिचित चैतन्य पाठशालाद्वारा आयोजिक ‘तेस्रो सुदूरपश्चिम प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता-२०८२’ धनगढीमा सुरु भएको छ ।
तीन दिनसम्म चल्ने प्रतियोगिताको ओलम्पियन तथा ओलम्पियन सङ्घका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का राष्ट्रिय टिम तयारी निर्देशक दीपक विष्टले उद्घाटन गरे ।
‘चैतन्य तेक्वान्दो डोजाङ’को आयोजनामा सम्पन्न प्रतियोगिता सेन्सर सिस्टममार्फत सञ्चालन भइरहेको छ । प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका दुई सय भन्दाबढी खेलाडीको सहभागिता रहेको छ।
चैतन्य पाठशालाका निर्देशक कटक बहादुर सिंहले विगतमा नगर तथा जिल्ला स्तरमा सफल प्रतियोगिता आयोजना गरेको अनुभवका आधारमा यस वर्ष प्रदेशस्तरीय प्रतियोगिता ल्याइएको जानकारी दिए । उनले भने, ‘‘चैतन्य पाठशालाले समाजका विभिन्न क्षेत्रलाई उजागर गर्दै आएकोमा यसपछिको कार्यक्रम अझ वृहत रुपमा आयोजना गरिने छ।’’
कार्यक्रममा प्रमुख अतिथि विष्टले वर्तमान समय तेक्वान्दो खेलमा पर्याप्त सामग्री र अवसर रहेको उल्लेख गर्दै यस्ता प्रतियोगिताले खेलाडीलाई थप हौसला प्रदान गर्ने बताए ।
उनले भने, ‘‘हाम्रो देशमा विभिन्न स्तरका खेलाडीहरू रहेका छन्। र उनीहरूले अवसर नपाउँदा मात्रै समस्या भइरहेको छ । यसरी विद्यालय स्तरमा कार्यक्रमहरू आयोजना गर्न सकेमा खेलाडीहरूमा रहेको क्षमता प्रदर्शन हुनेछ ।’’
चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले चैतन्यलाई शिक्षा र संस्कारको संगम र वेद तथा विज्ञानको संयोजनका रूपमा परिभाषित गर्दै समाजको समग्र विकासमा चैतन्यले उल्लेखनीय योगदान दिँदै आएको बताए ।
कार्यक्रममा तेक्वान्दो क्षेत्रमा विशिष्ट योगदान दिनुभएका वरिष्ट तेक्वान्दो प्रशिक्षक गोविन्द विष्ट, शेरवहादुर सिंह र मोहन प्रताप गुरूङलाई जनही १० हजार रुपियाँसहित सम्मान गरिएको थियो । उनीहरुलाई प्रमुख अतिथि ओलम्पियन दीपक विष्ट, अतिथि जगत टमटालगायतले सम्मान गरे । प्रतियोगितामा विजयी हुने टिमलाई ५० हजार, दोस्रोलाई ३० हजार, र तेस्रो हुनेलाई २० हजार रुपियाँ प्रदान गरिनेछ ।
यस्तै पुरुष र महिला ‘वेस्ट फाइटर’ लाई पाँच हजार रुपियाँ प्रदान गरिनेछ । उद्घाटन अवसरमा राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रमुख प्रशिक्षक जगत टमाटाले चैतन्य पाठशालाको चैतन्य स्पोर्ट्स एकेडेमीलाई खेल सामग्रीसमेत हस्तान्तरण गरे ।
 
                     
                                 
                         
                                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                         
                         
                         
                        
प्रतिक्रिया