सरकारले माग सम्बोधन नगरे जेठ १९ बाट सार्वजनिक यातायात बन्द गर्ने
धनगढी । सार्वजनिक यातायात बचाउका लागि संयुक्त संघर्ष भन्दै सार्वजनिक यातायात व्यवसायीहरू यातायात सेवा बन्द गर्ने तयारीमा छन्। आज धनगढीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय कमिटीका अध्यक्ष भीमज्वाला राईले नेपालमा सार्वजनिक यातायात सुरु १९७३ बाट भएको भएपनि अझै पनि सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन नसकेकोमा चिन्ता व्यक्त गरे।
सरकारले गुणस्तरीय सेवा दिनको लागि नीति बनाए पनि कार्यान्वयनको पाटोलाई नजरअन्दाज गरिरहेको आरोप लगाए। उनले भने निजी क्षेत्रको १० देखि १३ खर्ब लगानी रहेको सार्वजनिक यातायात व्यवसायलाई सरकारले अझै पनि व्यवसायकै रुपमा नहेरेको आरोप लगाए। यातायात व्यवसायीहरूले पलायन हुनुपरेको सेवाग्राहीले भरपर्दो सेवा नपाएको प्रत्येक दिन २५ लाख नागरिकले सार्वजनिक यातायात को सेवा लिएता पनि राज्यले यसलाई बचाउन नभई उल्टै ध्वस्त पार्न लागेको जिकिर गरे।
अध्यक्ष राईले निजी परियोजन का लागि खरिद गरिएका सवारीहरूले यात्रु ओसारपोसार गर्दा लाखौं ऋण निकालेर व्यवसाय सुरु गरेका यातायात व्यवसायीहरू मारमा परिरहेको बताए। यसबारे उचित नीति बनाएर कार्यान्वयन गर्न पटकपटक जिल्ला प्रशासन प्रदेश सरकार केन्द्रीय सरकारलाई झकझक्याउँदा समेत कुनै चासो नदिएकोमा उनले गुनासो गरे।
संघीय कानुनमा एक व्यवस्था छ प्रदेश सरकारले छुट्टै कानुन बनाएर अर्को व्यवस्था लागू गर्दा यातायात व्यवसायीहरु झन् मारमा रहेको पत्रकार सम्मेलन मार्फत बताए।
भारतीय नम्बर प्लेटका सवारीले नेपालका विभिन्न ठाउँहरूमा यात्रु ओसारपोसार गर्दा समेत सम्बन्धी निकाय मौन बस्दा आफूहरू झनै मारमा परेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका प्रदेश अध्यक्ष ललित चन्दले बताए। सुदूरपश्चिमका विभिन्न क्षेत्रमा यात्रुहरूसँग भाडा मिलाउने भनि तोकिएको भाडाभन्दा कममा यात्रु लाई ओसार्ने काम गरिरहँदा सार्वजनिक यातायात व्यवसायीहरू पीडामा परेको बताए।
सरकारी निकाय बिचौलियासँग मिलेको आरोप लगाउँदै भने यदि सार्वजनिक यातायात व्यवसायलाई सही रुपमा उचित मूल्याङ्कन नगर्ने हो भने यातायात व्यवसायीहरूका महासङ्घ र संगठनहरु एकीकृत भएर आउँदो जेठ १९ गतेबाट सार्वजनिक यातायात सेवा अनिश्चितकालका लागि बन्द गर्ने बताए ।
प्रतिक्रिया