गणतन्त्र संस्थागत गर्न विकासमा प्राथमिकता – मुख्यमन्त्री शाह

  बिहिबार १५, जेठ २०८२ ०७:५४

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गणतन्त्र र सङ्घीयतालाई संस्थागत एवं बलियो बनाउनका लागि प्रदेश सरकारले जनताको विश्वास र भरोसा जित्ने गरी काम गरिरहेको बताउनुभएको छ ।

१७ औँ गणतन्त्र दिवसको अबसरमा मुख्यमन्त्री शाहले प्राप्त अधिकार अनुसार जनताका चाहना पूरा गर्ने काम गरिरहेको उल्लेख गर्नुभयो । नेपालमा गणतन्त्र र सङ्घीयता आएको धेरै भएको छैन अरू देशमा यसका लामा इतिहास छन् उहाँले भन्नुभयो, “नेपालकै सन्दर्भमा त प्रदेश तह नौलो संरचना हो जबकि अरू दुई तह सङ्घ र प्रदेश कुनै न कुनै रूपमा पहिलेदेखि नै सञ्चालनमा छन्, यस्तो अवस्थामा पनि हामीले जनताको हितमा काम गरिहेका छौँ ।” 

सङ्घ र स्थानीय तहका सरकार र प्रतिनिधिसँग समन्वय गरेर अघि बढिरहेको दाबी गर्नुभएका मुख्यमन्त्री शाहले विकासका सन्दर्भमा तिनै तहका सरकार एकै ठाउँमा रहेको र विकासका कामलाई प्राथमिकता दिएर हिँडेको बताउनुभयो । फरक प्रसङ्गमा उहाँले निजामती, शिक्षा, प्रहरी जस्ता केही महत्वपूर्ण ऐन सङ्घ सरकारले पारित नगर्दा प्रदेश सरकारलाई सङ्घीयता कार्यान्वयनमा कठिनाइ भएको पनि उल्लेख गर्नुभयो । 

नेपाली कांग्रेस संसदीय दलका नेता तथा २०७९ को दोस्रो प्रदेश सभा निर्वाचनपछि दुई पटक मुख्यमन्त्री बन्ने सौभाग्य प्राप्त गर्नुभएका मुख्यमन्त्री शाहले गणतन्त्र र सङ्घीयतालाई डगमगाउन नदिने गरेर तिनै तहका सरकारले काम गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

२०७४ सालको प्रदेश सभा निर्वाचनपछि पाँचै वर्ष मुख्यमन्त्री हुन सफल नेकपा ९माओवादी केन्द्रका० नेता तथा पूर्वमुख्यमन्त्री त्रिलोचन भट्टले गणतन्त्र र सङ्घीयतापछि सरकार नजिक आएको र जनताले आफ्नो आवश्यक्ता बारे सुनाउने ठाउँ पाएको बताउँदै, नागरिकका अपेक्षा क्रमशः पूरा हुँदै गएको दाबी गर्नुभयो । 

अपेक्षा तीव्र रूपमा पूरा नहुँदा केही जनगुनासा छन्, उहाँले भन्नुभयो, “ती गुनासोको अन्त्य गर्न गणतन्त्र र सङ्घीयता ल्याउने एकताबद्ध हुन जरुरी छ ।” २०७९ को निर्वाचनपछि सङ्घीयतापछिको दोस्रो मुख्यमन्त्री हुन सफल नेकपा ९एमाले० का संसदीय दलका नेता राजेन्द्रसिंह रावलले गणतन्त्र र सङ्घीयतापछि मुलुकको भौतिक विकास हुनु र आर्थिक अवस्था सुधार हुनाले नेपाल विश्वव्यापी रूपमा परिचित हुन थालेको बताउँदै नेपाल अल्पविकसित राष्ट्रबाट विकसित मुलुकमा प्रवेश गर्न थालेको बताउनुभयो ।

 उहाँले लिपुलेक क्षेत्र नेपालको नक्सामा जोडिनु पनि यही व्यवस्थाको उपज भएको बताउनुभयो । हिंसाबिना नै राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भएको चर्चा गर्दै उहाँले गणतन्त्रले नै समावेशिता ल्याएको, दलित, जनजाति र महिला मुलुकका राष्ट्रपति, प्रधान न्यायाधीश, सभामुखलगायतका मुख्य पदसम्म पुग्न पाएको बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशको चौथो मुख्यमन्त्री बन्न सफल नेकपा ९एकीकृत समाजवादी० का संसदीय दलका नेता दीर्घबहादुर सोडारीले नजिकको सरकार बन्नु गणतन्त्र र सङ्घीयताको सुन्दर पक्ष भएको बताउँदै अहिले गाउँ गाउँमा ठुला सडक, पुलपुलेसा पुगेको स्वास्थ्य, शिक्षामा उल्लेखनीय प्रगति भएको बताउनुभयो । 

खर्बौं रुपियाँ बैङ्कमा थुप्रिनु, विकासका कामको अनुगमन सुपरीवेक्षण नहुनु, तिनै तहका सरकारका अनावश्यक खर्च बढ्नु, विकासका गुरुयोजना नबन्नु र रोजगारी सिर्जना नहुँदा जनतामा निराशा छ, उहाँले भन्नुभयो, “यस्ता निराशाको अन्त्य गर्न कृषि र पर्यटन उद्योग स्थापना गरेर रोजगारी बढाएर गणतन्त्र र सङ्घीयताको संस्थागत विकास गर्नु पर्छ ।” 

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता खगराज भट्टले अहिलेको व्यवस्था उत्कृष्ट भएको, जनतालाई सार्वभौम बनाएको, सिंहदरबारको ढुकुटी गाउँ गाउँमा पुगेको बताउदै अझै आर्थिक समृद्धिका लागि काम गर्न जरुरी रहेको बताउनुभयो । उहाँले व्यवस्था र प्रणालीले होइन नेताका व्यक्तिगत स्वार्थका कारण अस्थिरता निम्तिएको चर्चा गर्दै नीतिगत विसङ्गति, भ्रष्टाचार र कुशासन अहिलेको व्यवस्थाको चुनौती भएको बताउनुभयो ।   

clock बिहिबार १५, जेठ २०८२ ०७:५४

प्रतिक्रिया