भिरबाट खसेको ढुङ्गा लागेर दार्चुलामा एकको मृत्यु एक घाइते

  बुधबार १४, जेठ २०८२ ०९:४५

दार्चुला । दार्चुलामा माथिबाट खसेको ढुङ्गा लागेर एक जनाको घटना स्थलमै मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी छत्र रावतका अनुसार आज बिहान ७ बजेतिर नौगाड गाउँपालिका–६ धुलिगडाबाट बझाङतर्फ गइरहेका ठेगाना खुल्न बाँकी ७० वर्षीय कालु जोशीको ढुङ्गा लागेर घटना स्थलमै मृत्यु भएको हो । 

  बाटोमा जाँदै गरेको अवस्थामा स्थानीय रतपडे भन्ने ठाउँ माथिबाट खसेको ढुङ्गा लागेर जोशीको घटना स्थलमै मृत्यु भएको उहाँले जानकारी दिनुभयो । उनीसँगै रहेका नौगाड गाउँपालिका–६ धुलिगडाका ४५ वर्षीय प्रताप धामी घाइते हुनु भएको छ ।

घाइते धामीको उद्धार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको उहाँले बताउनुभयो । घट्नाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षकको कमान्डमा प्रहरीको टोली त्यस क्षेत्रतर्फ गएको बताइएको छ । गोकुलेश्वरबाट घटना स्थल पुग्न २÷३ घण्टाको समय लाग्ने बताइएको छ । 

   यसैबिच गए राती भएको अविरल वर्षाका कारण खलङ्गा दल्लेक सडक खण्ड अन्तर्गत मालबेलामा पहिरो खसेर सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा खलङ्गाबाट नौगाड गाउँपालिकाका विभिन्न स्थानहरूमा जाने सवारीका साधनहरू चल्न सकेका छैनन् । अवरुद्ध सडक खुलाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ ।    

clock बुधबार १४, जेठ २०८२ ०९:४५

प्रतिक्रिया